सेल्स बेरी डिपार्टमेन्ट स्टोरको व्यापार १७% ले घट्यो

686
Shares

काठमाडौं । सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्सप्रेस सञ्चालन गर्ने सेल्वेज क्यास एन्ड क्यारी प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा पौने २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२५ मा २ अर्ब ९६ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । देशभर ३५ वटा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको कम्पनीका काठमाडौं, ललितपुर र पोखरामा केन्द्रित स्टोरहरू छन् ।

कम्पनीको व्यापार गत आवमा ७ प्रतिशतले घटेको थियो भने चालु आवको ९ महिनामा १७ प्रतिशतले घटेको छ । कम्पनीले सन् १९९३ मा पहिलो स्टोर पोखरामा ‘सेल्वेज डिपार्टमेन्टल स्टोर’ नाममा खोलेको थियो । पछि नाम परिवर्तन गरी सन् २०१४ मा ‘सेल्वेज क्यास एन्ड क्यारी प्रालि’ राखेको थियो ।

सुशीलमान प्रधानाङ्गको ५१ प्रतिशत र सृजना श्रेष्ठको ४९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ६२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९६ करोड रुपैयाँको रेटिङ गराएको हो ।