सुर्तिजन्य पदार्थमा स्वास्थ्य जोखिम कर कति थपियो ?

2.1k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य जोखिम करतर्फ बिँडी, चुरोट, भेपलगायतको कर निर्धारण गरेको छ ।

जसअनुसार बिँडीमा प्रति खिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रति खिल्ली ६० पैसा स्वास्थ्य कर उठाउने सरकारले घोषणा गरेको छ ।

यसैगरी दहन नगरी श्वासले तान्ने उद्देश्यले बिद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएको हिटेड टोवाकोमा भन्सार महसुल प्रयोजनको लागि कायम भएको मूल्यको १० प्रतिशत कर तोकिएको छ ।

त्यस्तै दहन नगरी श्वासले तान्ने उद्देश्यले बिद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका निकोटिनयुक्त वा निकोटिनरहित इलेक्ट्रोनिक्स चुरोट वा भेपमा प्रति गोटा ३० रुपैयाँ स्वास्थ्य जोखिम कर तोकिएको छ ।

यसबाहेक निकोटिनयुक्त वा निकोटिन रहित वस्तुका तत्व मिश्रित धुम्रपान गर्ने, चपाउने, मुखमा राख्ने, तयारी खानेसुर्ती, खैनी, गुटखा, पानमसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा प्रतिकिलो ग्राम ६० रुपैयाँ स्वास्थ्य जोखिम कर तोकिएको छ ।

यस्तो कर आयातको समयमा भन्सार विन्दुमा र स्वदेशी उत्पादनको हकमा प्रतिष्ठानबाट निष्कासनका बखत असुल गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य जोखिम कर दाखिल गर्नुपर्ने करको विवरण अन्तः शुल्क विवरणमा समावेश गरी अर्काे महिनाको २५ गतेभित्र अन्तः शुल्क अधिकृतसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य जोखिम कर छली भएको पाइएमा अन्तः शुल्क अधिकृतले स्वास्थ्य जोखिम कर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य जोखिम कर दाखिल नगरेको वा कम दाखिल गरेको अवस्थामा दाखिल गर्न बाँकी स्वास्थ्य जोखिम करमा प्रतिदिन ०.०५ प्रतिशतका दरले बिलम्ब शुल्क लाग्ने व्यवस्था गरिएको छ ।