सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट, यस्ता छन् मुख्य आकर्षण

35
Shares

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधारस्तम्भको रूपमा अघि सारेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‌मा पेस गरेको बजेटमा काठमाडौंको स्युचाटारमा देशकै पहिलो ‘एआई कम्प्युट केन्द्र’ स्थापना गर्नेदेखि डिजिटल भुक्तानीमा कर छुटसम्मका महत्त्वाकांक्षी योजनाहरू घोषणा गरिएको छ ।

स्युचाटारमा एआई कम्प्युट केन्द्र र स्टार्टअपलाई सहुलियत

बजेटको सबैभन्दा आकर्षणको रूपमा स्युचाटारमा स्थापना गरिने एआई कम्प्युट केन्द्र रहेको छ । उक्त केन्द्रमा हजारौँ एआई प्रोसेसिङ युनिटहरू खरिद गरी जडान गरिनेछ । यस केन्द्रमार्फत नेपाली स्टार्टअपहरूलाई सहुलियतपूर्ण दरमा उच्च क्षमताको कम्प्युट पावर उपलब्ध गराइने अर्थमन्त्री वाग्लेले बताएका छन् । यसले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा विज्ञानमा आधारित नयाँ उद्योगहरूको विकासमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

एआई विज्ञहरूलाई फेलोसिप र सम्मान

एआईकै क्षेत्रमा अर्को महत्त्वपूर्ण कदम चाल्दै सरकारले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका १५ जना नेपाली एआई विज्ञहरूलाई फेलोसिप प्रदान गर्ने भएको छ । विश्वस्तरमा रहेका नेपाली प्रतिभालाई स्वदेशको विकासमा जोड्न यो कार्यक्रम ल्याइएको हो ।

डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट

आम नागरिकलाई डिजिटल कारोबारमा आकर्षित गर्न सरकारले नगदरहित भुक्तानीमा विशेष सहुलियत दिएको छ । अबदेखि उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा डिजिटल माध्यम (क्यूआर कोड, वालेट वा मोबाइल बैंकिङ) बाट भुक्तानी गरेमा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता वा छुट पाउनेछन् । यसले पारदर्शी अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने दाबी अर्थमन्त्री डा. वाग्लेले जारी गरेको बजेटमार्फत गरेका छन् ।

नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई

सरकारी स्वामित्वको नेपाल टेलिकमबाट सरकारले आफ्नो हिस्सा घटाउने भएको छ । टेलिकममा हाल सरकारको ९२ प्रतिशत रहेको सेयर संरचनालाई घटाएर अब सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित राख्ने भएको छ । बाँकी रहेको शेयर जनस्तरमा विस्तार गरिने घोषणा वाग्लेले गरेका छन् । यसबाट नागरिकले सरकारी स्वामित्वको संस्थामा प्रत्यक्ष लगानीको अवसर पाउनेछन् ।

स्टार्टअप र विज्ञानमा कुल पुँजीगत खर्चको १ प्रतिशत लगानी

देशमा नवप्रवर्तनलाई बढावा दिन सरकारले विज्ञान, प्रविधि र स्टार्टअप क्षेत्रमा कुल पुँजीगत खर्चको १ प्रतिशत बजेट लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो रकम अनुसन्धान, विकास र नयाँ व्यावसायिक सोच भएका युवाहरूका लागि खर्च गरिनेछ ।

सरकारले ल्याएका यी कार्यक्रमहरूले नेपाललाई विश्वव्यापी प्रविधि बजारसँग जोड्ने र युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । प्रविधि विज्ञहरूले स्युचाटारमा स्थापना हुने एआई केन्द्रलाई नेपालको डिजिटल विकासको कोशेढुङ्गाका रूपमा टिप्पणी गरेका छन् ।