चीन र रुसले इरानको युरेनियम राख्ने सम्भावनालाई ट्रम्पले ठाडै नकारे

217
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार अमेरिकासँगको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताको हिस्साको रूपमा इरानले आफ्नो अत्यधिक संवर्धित युरेनियमको भण्डार रुस वा चीनलाई हस्तान्तरण गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा ट्रम्पले भने, ‘होइन, म त्यस्तो व्यवस्थासँग सहज हुनेछैन ।’

विश्वकै सबैभन्दा ठूलो आणविक हतियारको भण्डार भएको क्रेमलिनले यसअघि शान्ति सम्झौतामा सहयोग पुर्याउन इरानको संवर्धित युरेनियम स्वीकार गर्न सक्ने बताएको थियो ।

चीनले पनि सो सामग्री लिन इच्छुक हुन सक्ने अनुमान गरिएको कुरा सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन् ।

ट्रम्पले सोमबार ट्रुथ सोसलको एउटा पोस्टमा इरानको संवर्धित युरेनियम अमेरिकामा, इस्लामिक गणतन्त्र इरानमै वा अर्को कुनै स्वीकार्य स्थानमा नष्ट गरिने घोषणा गरेका थिए ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा यी टिप्पणीहरू यस्तो समयमा आएका छन् जब अमेरिका र इरानले पश्चिम एसियामा जारी तीन महिना लामो युद्ध अन्त्य गर्न कम्तीमा पनि अल्पकालीन सम्झौताका लागि काम गरिरहेको संकेत दिइरहेका छन् ।

विश्वव्यापी ऊर्जा आपूर्तिमा युद्धको प्रभावका कारण ह्वात्तै बढेको तेलको मूल्य, विदेशमन्त्री मार्को रुबियोले बैठकमा अमेरिका कूटनीतिलाई सफल हुने हरेक अवसर दिन चाहन्छ भनेपछि घटेको छ ।

अमेरिकाले इरानमाथिको कुनै पनि प्रतिबन्धहरू खुकुलो पार्ने वा सम्झौताको हिस्साको रूपमा उनीहरूलाई कुनै पैसा दिने बारेमा कुरा नगरिरहेको ट्रम्पले बताए ।

‘न त प्रतिबन्ध (हटाउने), न पैसा, न त केही,’ उनले बैठकमा भने, ‘उनीहरूले आफ्नो भनेर दाबी गरेको पैसा हाम्रो नियन्त्रणमा छ । हामी सो पैसामाथि नियन्त्रण कायम राख्नेछौं । जब उनीहरूले राम्रो व्यवहार गर्छन् र जब उनीहरूले सही काम गर्छन्, तब हामी उनीहरूलाई उनीहरूको पैसा दिनेछौं । तर, अहिले हामी त्यसो गरिरहेका छैनौं ।’

उनले थपे, ‘एउटा कुरा अर्कोसँग निर्भर छैन ।’

उनले हर्मुज जलयोजकमा इरानलाई नियन्त्रण दिने कुनै पनि अल्पकालीन सम्झौता स्वीकार नगर्ने पनि बताए । हर्मुज तेल ढुवानी गर्ने एक मुख्य मार्ग हो जसको ट्यांकर यातायात युद्धका कारण अवरुद्ध भएको छ । अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गर्नुअघि उक्त जलमार्गमा इरानको नियन्त्रण थिएन ।

‘यो जलयोजक सबैका लागि खुला रहनेछ,’ ट्रम्पले भने, ‘हामी यसको निगरानी गर्नेछौं तर कसैले पनि यसलाई नियन्त्रण गर्ने छैन । यो हाम्रो वार्ताको एक हिस्सा हो ।’