Exclusive

सिफारिस समितिले नै मुकुन्द क्षेत्रीमाथि अनुसन्धान गर्न सिफारिस गरेपछि रोकियो सेबोन अध्यक्ष नियुक्ति

6.2k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले गत शुक्रबार नै नाम सिफारिस गरे पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गरेन । अध्यक्ष सिफारिस समितिले बैशाख १५ गते सार्वजनिक सूचना निष्काशन गर्दै योग्यता पुगेकाहरूको बायोडाटा माग गरेको थियो । जसमा ४७ जनाले बायोडाटा बुझाएका थिए ।

बायोडाटा बुझाएका ४७ मध्येबाट सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र मुकुन्द क्षेत्री तथा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी र बोर्डकै वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य थिए । सर्टलिस्टमा पर्नेहरूलाई सिफारिस समितिले गत शुक्रबार छलफलमा बोलाएर सोही दिन ३ जनाको नाम सिफारिस गरेको थियो । त्यसपछि पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रालयमै बोलाएर उनीहरुलाई छुट्टै भेटेका थिए ।

गत शुक्रबार नै अध्यक्ष सिफारिस समितिले नाम सिफारिस गरेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री बालेन शाहले यस विषयमा पछि छलफल गरौंला भनेर सिफारिसमा परेकाहरु नै विवादमा तानिएको विषयमा अध्ययन गर्न विशेष टोली खटाएका छन् ।

पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्षहरू पटक-पटक विवादित बनेपछि प्रधानमन्त्री बालेन शाहले नै अध्यक्ष सिफारिस भएकाहरूको पृष्ठभूमि बुझ्न खोजेपछि सोमबार अध्यक्ष नियुक्त हुन नसकेको हो ।

यद्यपि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्न नसक्नुमा दोस्रो कारण पनि रहेको उच्च स्रोतले क्लिकमान्डुलाई बतायो । शुक्रबार सिफारिस समितिले नाम सिफारिस गरिसकेपछि सर्टलिस्टमा परेका ४ जनामध्ये एक मुकुन्द क्षेत्रीका विषयमा नेपाल धितोपत्र बोर्डको सञ्चालक हुँदा भएका केही निर्णयहरूमा प्रश्न उठेको थियो ।

प्रिमियममा आइपीओ निष्कासन गर्न नियमावली संशोधन गर्ने समयमा बोर्डको सञ्चालक रहेका क्षेत्री समेत उक्त निर्णयमा संलग्न भएको भन्दै प्रश्न उठेको र सिफारिस समितिमा समेत उक्त विषयमा उजुरी तथा गुनासो पुगेको स्रोतको दाबी छ ।

सिफारिस समितिले गत शुक्रबार नै ३ जनाको नाम सिफारिस गरिसकेपछि क्षेत्रीको विषयमा प्रश्न उठेको भन्दै उनीमाथि प्रश्न उठेका विषयमा दिपक भट्ट र सुलभ अग्रवाल लगायतको अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरेको भनेर सिफारिस समितिमा समेत गुनासो पुगेको स्रोतको दाबी छ ।

यसरी गुनासो पुगेपछि सिफारिस समितिले सिफारिस गरिसकेपछि मुकुन्द क्षेत्रीका विषयमा केही प्रश्न उठेको भन्दै अनुसन्धान गर्ने निकायहरूले त्यस विषयमा अनुसन्धान गरिरहेको हो वा होइन, अनुसन्धानमा शंकास्पद भूमिका देखिएको छ कि छैन भनेर आवश्यक यकिन गर्न भन्दै अर्को पत्र अर्थमन्त्रीसमक्ष पठाएको छ, जसकारण नियुत्ति रोकिएको हो ।

‘धितोपत्र बोर्डको सञ्चालक हुँदा मुकुन्दजीको भूमिका र निर्णय प्रक्रियामा संलग्नता लगायतका विषयमा प्रश्न उठेपछि हामीले अर्को पत्र पठाएर थप अध्ययन गर्न भनेका थियौं,’ सिफारिस समितिका एक सदस्यले क्लिकमान्डुसँग भने, ‘थप अध्ययन गर्ने नगर्ने वा कसलाई नियुक्त गर्ने सरकारको निर्णय हुन्छ ।’

प्रधानमन्त्रीकै चासो र सिफारिस समितिले नै सिफारिस गरेको व्यक्तिको विषयमा दोस्रो पत्र पठाएर थप अध्ययन गर्नु भनेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगरेको हो ।

त्यस्तै, गोपाल भट्टले पटक पटक बोर्डको अध्यक्षमा आवेदन दिएकाले कुनै व्यापारिक वा स्वार्थ समूहले उक्साइरहेका छैनन् भनेर बुझ्न प्रधानमन्त्रीले विश्वासपात्रहरुलाई खटाएको स्रोतको दाबी छ । साथै सिफारिसमा परेकाहरुको राजनीतिक आवद्वता र पृष्ठभूमि बुझ्न पनि प्रधानमन्त्रीले मान्छे खटाएका छन् ।