खुराक ब्रान्डको दाना बेच्ने कम्पनीको व्यापार ६ महिनामा ३७% ले घट्यो, कतिको गर्‍यो कारोबार ?

84
Shares

काठमाडौं । खुराक ब्रान्डको दाना बेच्ने दाङ फिड इन्डस्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ८१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले गत आवमा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीका अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा ३७ प्रतिशतले कारोबार घटेको छ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले पोल्ट्री तथा गाईवस्तुको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न चार प्रकारका दाना उत्पादन गर्दै आएको हो ।

कम्पनीले पेलेट दाना र पोल्ट्रीको दानामा ब्रोइलर, लेयर्स र प्यारेन्ट कुखुराका लागि दाना उत्पादन गर्दै आएको छ। कम्पनीले प्रि-स्टार्टर, स्टार्टर, ग्रोअर र फिनिसर गरी उमेरअनुसारको दाना उत्पादन गर्दै आएको छ ।

वार्षिक ३६ हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९४ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड २८ लाख रुपैयाँको रेटिङ गराएको हो ।