अमेरिकी उपमन्त्री सारा बी रोजर्स नेपाल आउँदै

133
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बाक्लिएको छ ।

यसै सिलसिलामा अमेरिकाको विदेश मन्त्रालयकी जनकूटनीति तथा सार्वजनिक मामिला सम्बन्धी उपमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि आगामी शनिबार काठमाडौं आइपुग्ने भएकी छन् ।

गत चैत १४ मा वर्तमान सरकार बनेपछि नेपाल भ्रमण गर्ने रोजर्स सबैभन्दा उच्च तहकी अमेरिकी कूटनीतिज्ञ हुन् । अमेरिकाको विदेश मन्त्रालयमा रहेका ६ जना उपमन्त्रीमध्ये रोजर्स एक हुन् ।

यसअघि गत वैशाखमा दुई उच्च अमेरिकी अधिकारीहरूले नेपालको भ्रमण गरिसकेका छन् । वैशाख ७ मा दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी सहायक विदेशमन्त्री समिर पल कपुरले नेपाल भ्रमण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग द्विपक्षीय सम्बन्ध र लगानीको वातावरण सुधार्ने विषयमा छलफल गरेका थिए ।

कपुरको भ्रमण लगानीलगत्तै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि नेपाल आएर आर्थिक सम्बन्ध विस्तार र वैदेशिक लगानीका विषयमा मन्त्रीहरूसँग कुराकानी गरेका थिए । ती दुवै अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट गरेका थिएनन् ।

गत जेठ ७ गते काठमाडौंस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथाको सफल आरोहण गरेका थिए र हार्करको सम्मानमा आयोजित विशेष समारोहमा रोजर्स प्रमुख अतिथिको रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ ।

भ्रमणका क्रममा रोजर्स अमेरिकी दूतावासले आयोजना गर्ने नेपाल एसेन्ट समिट २०२६ मा पनि सहभागी हुनेछिन् । यस सम्मेलनमा पर्वतारोहण क्षेत्रका व्यवसायी, पर्यटन सरोकारवाला र अन्तर्राष्ट्रिय ब्रान्डहरूले सगरमाथाको भविष्य र पर्वतारोहणको नयाँ अध्यायबारे छलफल गर्नेछन् ।

रोजर्सले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने कुराको टुंगो लागेको छैन । तर, कूटनीतिक प्रचलन अनुसार उनले परराष्ट्रमन्त्री खनाल र अन्य उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिका र विश्वका अन्य देशका नागरिकहरूबीचको सम्बन्धलाई मजबुत बनाउनु जनकूटनीति हेर्ने उपमन्त्रीको मुख्य भूमिका हो । रोजर्सको नेतृत्वमा रहने विभिन्न विभागहरूले विदेशी समुदायका दृष्टिकोणहरू बुझ्ने र जनस्तरमा संवाद गर्दै अमेरिकी राष्ट्रिय हितको प्रवर्धन गर्ने काम गर्छन् ।