हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार १४ प्रतिशतले घट्यो

91
Shares

काठमाडौं । हार्भेस्ट मुन ट्राभल्स एन्ड टुर्सको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीले २ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीका अनुसार चालु आवमा पनि ९ प्रतिशतले कारोबार घटेको छ । चालु आवमा ‘जेनजी’ आन्दोलनका कारण सिर्जित राजनीतिक अस्थिरता र खाडी मुलुकमा जाने कामदारका लागि गरिएको कडाइका कारण कारोबारमा कमी आएको कम्पनीको भनाइ छ ।

त्यस्तै, मलेसिया सरकारले रोजगारीका लागि जाने नेपालीलाई प्रतिबन्ध गरेकाले कारोबारमा कमी आएको जनाइएको छ । कम्पनीले गत आवमा ०.२८ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.६१ प्रतिशत खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल नगद सञ्चय १ करोड ५० लाख रुपैयाँ रहेको छ । सन् २०२३ मा ३ करोड रुपैयाँ र सन् २०२४ मा ३ करोड २० लाख रुपैयाँ कुल नगद सञ्चय थियो ।

पर्यटन वृद्धि, कोभिडको कडा नियमहरूमा गरिएको सहजता र अध्ययन तथा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बढ्दो रुचिका कारण अन्तर्राष्ट्रिय हवाई टिकटिङ क्षेत्रको व्यवसाय निकै सकारात्मक रहेको छ ।

नेपाल सरकारले सार्वजनिक गरेको श्रम स्वीकृतिको तथ्याङ्क र पर्यटकहरूको आगमनमा भएको वृद्धिले पनि यस क्षेत्रको व्यवसाय सकारात्मक रहेको स्पष्ट पार्दछ । सोहीअनुसार कम्पनीले बढ्दो अध्ययन र रोजगारीमा जाने प्रवृत्तिले कारोबार बढ्ने अपेक्षा गरेको छ ।

सन् १९९९ मा स्थापना भएको यस कम्पनीले अन्तर्राष्ट्रिय हवाई टिकटिङको सेवा दिँदै आएको छ । कम्पनीले विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि हवाई सेवाको टिकटिङ सेवा दिँदै आएको हो ।

रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठको बराबर हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड ६८ लाख रुपैयाँको रेटिङ गराएको छ ।