हवाई टिकट बेच्ने सि लिंक ट्राभल्सले एकै वर्ष गर्‍यो ५ अर्ब रुपैयाँ बढीको व्यापार

175
Shares

काठमाडौं । सि लिंक ट्राभल्स एन्ड टुर्सले एकै वर्ष ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब १६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब ९० करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ५८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले विगत तीन वर्षमा संयुक्त रूपमा कारोबार ३५ प्रतिशतले बढेको उल्लेख गरेको छ । जसमा गत आवमा ५ प्रतिशतले कारोबार बढेको जनाइएको छ ।

कम्पनीका अनुसार गत आवमा हवाई टिकटको मूल्य बढ्दा कारोबार बढेको हो । गत आवमा आन्तरिक तथा विदेशी पर्यटक, कामदार र विद्यार्थीको आवतजावतको संख्या बढ्दा कारोबार बढेको हो ।

कम्पनीले विगत तीन वर्षदेखि कारोबारबाट हरेक वर्ष १ प्रतिशतका दरले नाफा कमाएको जनाएको छ ।

कम्पनीको कुल नगद सञ्चय भने बढेको छ । सन् २०२४ मा १ करोड ७० लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा गत आवमा बढेर २ करोड १० लाख रुपैयाँ पुगेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको सुविधा दिँदै आएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको एजेन्ट रहेको यस कम्पनीका १५ सयभन्दा बढी सब-एजेन्टहरू छन् ।

राजु ढकाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७२ करोड रुपैयाँको रेटिङ गराएको हो।