सुधन गुरुङले दिए काउन्सिलमा उजुरी, रिसोर्टले भन्यो: काल्पनिक घटना

5.2k
Shares

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।

‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारलाई उनले ‘पित पत्रकारिता’ को पराकाष्ठा र चरित्र हत्याको प्रयास भएको बताएका छन् । उनले आफू पारिवारिक भ्रमणमा रहेको विषयलाई तोडमरोड गरी प्रस्तुत गरिएको दाबी गर्दै दोषीमाथि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीको माग गरेका छन् ।

यसै सन्दर्भमा, सिन्धुपाल्चोकस्थित भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा लिमिटेडले पनि जेठ ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाक्रम र सोसँग जोडिएका प्रचारहरूको कडा खण्डन गरेको छ ।

रिसोर्टले आफ्नो संस्थाको नाम विभिन्न व्यक्ति र विषयहरूसँग अनावश्यक रूपमा जोड्दै सिर्जना गरिएका मनगढन्ते, काल्पनिक र भ्रामक समाचार तथा भिडियो सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीले अनुसन्धानको सिलसिलामा गरेको सामान्य सोधपुछ र विवरण संकलनको प्रक्रियालाई समेत अतिरञ्जित ढंगले प्रस्तुत गरिएको रिसोर्टले जनाएको छ ।

केही व्यक्तिहरूले आफूलाई सञ्चारकर्मीको रूपमा चिनाउँदै होटलका कर्मचारीहरूलाई अनावश्यक दबाब दिने, त्रसित बनाउने र जबर्जस्ती अभिव्यक्ति दिन बाध्य पार्ने कार्य गरिरहेको रिसोर्टले आरोप लगाएको छ । यस्ता कार्यले संस्थाको छविमा नकारात्मक असर पुगेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको प्रतिष्ठा र व्यावसायिक विश्वसनीयतामा आँच पुऱ्याउने गरी तथ्यहीन समाचार र भिडियो सम्प्रेषण नगर्न आग्रह गर्दै रिसोर्टले त्यस्ता गतिविधि नरोकिएमा मुलुकी अपराध संहिता, २०७४ र वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ लगायतका प्रचलित कानुन बमोजिम कडा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएको छ ।