आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ९७ लाख ठगी गर्ने चार जना पक्राउ

112
Shares

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै १० जनाबाट करिब १ करोड ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ९७ लाख ६५ हजार ५७० रुपैयाँ ठगी गर्ने चार जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूबाट विभिन्न देश पठाइदिने भन्दै रकम असुल्ने र पछि सम्पर्कविहीन हुने गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३० वर्षीय विशेष गुरुङ र २४ वर्षीय सौगात गुरुङ काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ परेका हुन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जनाबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको आरोप छ ।

त्यसैगरी, पोल्याण्ड पठाइदिने भन्दै १ जनाबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गर्ने पाँचथर फिदिम नगरपालिका–१० घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ४८ वर्षीय सूर्यप्रकाश खेजुमलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने ३३ वर्षीया शान्ति श्रेष्ठलाई लिथुआनिया पठाइदिने भन्दै १ जनाबाट १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।