
काठमाडौं । विशाल ग्रुपअन्तरगतको भीजी मोटर्सले पनि विद्युतीय सवारीसाधन आयातमा भन्सार छली गरेको पाइएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार एसआरएम र जोय–लङ जस्ता ब्रान्डको बिक्री गर्दै आएको विशाल ग्रुपले पनि भन्सार छली गरेको देखिएको हो ।
‘तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट पैठारी गरेको एक्स ३०एलईभी प्यासेन्जर भ्यान को पिक मोटर पावर ५० किलोवाट देखाई भन्सार उपशीर्षक ८७०३.८०.२९ बाट जाँचपास गरेको छ । उक्त सवारीसाधनको उत्पादक वा अन्य स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेष्ट रिपोर्ट संलग्न छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘उत्पादक कम्पनीसमेतको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ४१.८६ तथा ३२.१४ किलोवाट र भ्यानको कुल पिक मोटर पावर ६० किलोवाट रहेको देखिन्छ ।’
प्रतिवेदनमा यसका साथै नाडा अटो शोको अनलाइन ब्रोसर र वेबपेजमा समेत एसआरएम ब्रान्डको उक्त भ्यानको पिक मोटर पावर ६० किलोवाट रहेको उल्लेख भएको आधारमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) अन्तर्गत जाँचपास गरी भन्सार महसुल २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत लगाई छुट भएको ९ करोड ८० लाख ५१ हजार छानबिन गरी असुल गर्नुपर्ने विषय पनि समेटिएको छ ।
यसैगरी विशाल ग्रुप अन्तर्गतकै भीजी मोटर्सले जोयलङ ब्राण्डको २ थान मिनीबस ईए४ माइक्रोबसअन्तर्गत वर्गीकरण गरी जाँचपास भइसकेको अवस्थामा सोही मोडेल मिनीबसमा समेत जाँचपास भएको देखिएको छ । ती सवारीसाधनमा नियमावलीको मापदण्डबमोजिम मिनीबसको आन्तरिक उचाइ लगायत निर्धारित स्तरबमोजिम सिट र संकटकालीन निकासको व्यवस्था रहेको पुष्टि नरहेको र सवारीसाधनमा यात्रु चढ्न र ओर्लन प्रयोग गर्ने ढोकानिर राखिएको अतिरिक्त वा अन्य फोल्डिङ्ग सिट रहे/नरहेको खुलासा नगरेको तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १८ (१) (घ) तोकिएको आधार बमोजिम रहेको प्राविधिक पुष्ट्याइँ नरहेको हुँदा ती सवारीलाई माइक्रोबसको शीर्षक ८७०२.४०.३० मा हुने वर्गीकरणअनुसार छुट हुने महसुल रकम जम्मा २ करोड ५८ लाख ४४ हजार छानबिन गरी असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ ।
यता तातोपानी भन्सार कार्यालयबाट चीनबाट नामी बक्स गाडी आयात गरेकोमा पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी जाँचपास गरेको छ । उक्त गाडीको वास्तविक पिक मोटर पावर सम्बन्धमा यातायात व्यवस्था विभागले समेत परीक्षण गरेको छैन । प्रतिवेदनमा भनिएको छ, ‘ती गाडीको उत्पादक कम्पनीको नेपाली संस्करण डोङफेङ नेपालको वेबपेजमा उपलब्ध ब्रोसरमा उक्त सवारीसाधनको अन्य सबै विशेषता समान रहेको र पिक मोटर क्षमता ७० किलोवाट रहेको देखिन्छ । साथै पैठारीकर्ताले समेत अन्य विभिन्न कारोबारमा सोही मोडलको सवारीको पिक मोटर क्षमता ५० देखि १०० सम्म रहेको भनी उपशीर्षक ८७०३.८०.५९ बाट समेत जाँचपास गरेको देखिन्छ ।’
यसर्थ, उक्त सवारीसाधनलाई भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) बाट जाँचपास गरी भन्सार महशुल २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशतअनुसार हुने महसुल १७ करोड ४१ लाख २९ हजारका सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट एक पैठारीकर्ताले चीनबाट पैठारी गरेको जिकर एक्स मोडलको सवारीसाधन पिक मोटर पावर २०० किलोवाट उल्लेख गरी भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरेको छ ।

उक्त सवारीसाधन उत्पादकको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ६६ किलोवाट, अधिकतम टर्क ५१२ एनएम, रियर ह्विल ड्राइभ र पिक मोटर क्षमताको हकमा २७२ पिएस प्फर्डस्टर्क (अश्व शक्ति) अर्थात् २००.०६ किलोवाट हुने देखिन्छ ।
यसर्थ भन्सार उपशीर्षक ८७०३.८०.७९ (२०० देखि ३०० किलोवाट सम्म) मा ६० प्रतिशत भन्सार महसुल, ३५ प्रतिशत अन्तःशुल्क लगाउनुपर्नेमा न्यून दरबन्दी लगाई जाँचपास गर्दा छुट भएको तातोपानी भन्सार कार्यालयको १९ करोड ६७ लाख ३० हजार तथा विभिन्न पैठारीकर्ताले पैठारी गरेका डिपल र ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ्ग मोडलका सवारीसाधनको आधिकारिक कम्पनीको वेबपेजमा उपलब्ध क्याटलगको विवरणमा डिपल ई०७ पिक मोटर पावर २५२ किलोवाट र ज्याकब जे६ को पिक मोटर पावर २०५ किलोवाट र अन्यको २०० भन्दा बढी किलोवाट भएकोमा २०० भन्दा कम १६७ महालेखापरीक्षकको क्षमताको मोटर देखाइ भन्सार उपशीर्षक ८७०३.८०.६९ (पिक मोटर पावर १०० देखि २०० किलोवाट)बाट जाँचपास गर्दा छुट भएको तातोपानीको ९ करोड २१ लाख २५ हजार र रसुवा भन्सार कार्यालयको ८१ करोड २० लाख ८८ हजारसमेत ९० करोड ४२ लाख १३ हजारसहित कुल जम्मा रु १ अर्ब १० करोड ९ लाख ४३ हजार यकिन गरी असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।





प्रतिक्रिया