जहाजभित्र कफीले प्रितिलाई पोलेपछि कतार एयरवेजलाई साढे २ करोड क्षतिपूर्ति तिर्न आदेश

10.9k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र चालक दलका सदस्यले दिएको अत्यधिक तातो कफीले पोलेर गम्भीर घाइते भएकी नेपाली महिलाको पक्षमा उपभोक्ता अदालतले फैसला सुनाउँदै कतार एयरवेजलाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार ललितपुरकी प्रिती थापाको पक्षमा उक्त फैसला सुनाएको हो ।

अदालतले अन्तर्राष्ट्रिय हवाई यात्रासम्बन्धी मोन्ट्रियल कन्भेन्सन र उपभोक्ता संरक्षण ऐन दुवैलाई आधार मानेर क्षतिपूर्ति निर्धारण गरेको अदालतका सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए ।

उनका अनुसार अदालतले मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको हो । यसअनुसार कतार एयरवेजले कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

पीडित प्रिती थापाले सुरुमा २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

प्रितीले सन् २०२३ मे २६ मा कतार एयरवेजको अधिकारप्राप्त टिकट एजेन्सी प्रोफिसिएन्ट ट्राभल्स प्रालिमार्फत काठमाडौं–दोहा–बोस्टन तथा बोस्टन–दोहा–काठमाडौं रुटको दुईतर्फी हवाई टिकट खरिद गरेकी थिइन् । सोही टिकट सम्झौताअनुसार उनी सन् २०२३ जुन १० मा काठमाडौंबाट दोहा हुँदै अमेरिकाको बोस्टन पुगेकी थिइन् ।

एक महिनापछि सन् २०२३ जुलाई १० मा उनी बोस्टनबाट कतार एयरवेजको क्युआर–७४४ विमानमार्फत दोहा हुँदै क्युआर–६४८ विमानबाट काठमाडौं फर्किने क्रममा थिइन् । बोस्टनस्थित एडवार्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानमा यात्रा गरिरहेकै बेला चालक दलका सदस्यले उनलाई अत्यधिक तातो कफी दिएका थिए ।

उक्त कफी उनको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा पोखिएपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन् । विमान कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनलाई विमानस्थलस्थित आकस्मिक स्वास्थ्य सेवामा लगेर प्राथमिक उपचार गरिएको थियो । उपचारका क्रममा उनको चोट ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।

त्यसपछि काठमाडौं फर्किएपछि उनी कीर्तिपुर बर्न अस्पतालमा समेत भर्ना भएकी थिइन् । जलनका कारण उनले लामो समय शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको भन्दै उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सनअनुसार क्षतिपूर्ति माग गरेकी थिइन् ।

यसअघि उनले कतार एयरवेजसँग आन्तरिक रूपमा नै क्षतिपूर्ति दाबी गरे पनि कम्पनी तयार नभएपछि उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा गत वर्ष असार २६ गते अदालतमा दर्ता भएको थियो ।

अदालतले उडान सम्झौता, यात्रुको सुरक्षा दायित्व र सेवा प्रदायकको लापरबाहीलाई आधार मानेर एयरवेजलाई जिम्मेवार ठहर गरेको हो ।

यद्यपि, मुद्दा अझै अन्तिम रूपमा टुंगिएको भने छैन । अदालतका सूचना अधिकारी कँडेलका अनुसार फैसलाको पूर्णपाठ आएपछि कतार एयरवेजले क्षतिपूर्ति तिर्नुपर्नेछ । यदि फैसलामा चित्त नबुझेमा भने एयरवेजले ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।