
काठमाडौं । जारी वसन्त ऋतुको आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बुधबार एकै दिन २७० जनाभन्दा बढी आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।
नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन यति ठूलो संख्यामा भएको यो आरोहणलाई ऐतिहासिक मानिएको छ ।
पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति जारी गर्दै यो अभूतपूर्व उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण भएको बताएका छन् ।
यस वर्षको आरोहणमा थुप्रै नयाँ विश्व कीर्तिमानहरू समेत कायम भएका छन् । कामिरिता शेर्पालेसगरमाथाको चुचुरोमा ३२औं पटक पाइला टेक्दै आफ्नै अघिल्लो कीर्तिमान भंग गरेका छन् ।
संखुवासभाकी लाक्पा शेर्पाले महिलातर्फ ११औं पटक सगरमाथाको सफल आरोहण गरी नयाँ इतिहास रचेकी छिन् ।
यस वर्ष वसन्त ऋतुमा नेपालको तर्फबाट मात्रै सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरूले अनुमति पत्र (पर्मिट) लिएका छन्, जुन आफैंमा अहिलेसम्मकै उच्च संख्या हो ।
गत १३ मे २०२६ मा पर्वतारोहण सञ्चालक संघको ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) टोलीले चुचुरोसम्मको बाटो खोलेपछि औपचारिक रूपमा आरोहण सुरु भएको थियो । त्यसयता मौसमले साथ दिएका कारण आरोहीहरू निरन्तर चुचुरोमा पुगिरहेका छन् ।





प्रतिक्रिया