
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दुग्ध किसान लगायतको भुक्तानी वर्षौंसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेस गर्दै सरकारसँग उक्त माग गरेकी हुन्।
सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताइन्।
किसानले समयमा आफ्नो वस्तुहरूको उचित मूल्य नपाउँदा युवाहरू उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
‘हाम्रो कृषिप्रधान देशमा आज किसानको आँसुले माटो भिजिरहेको छ। मकवानपुरका दुग्ध किसानको मात्रै १४ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ। यो समस्या एउटा जिल्लाको मात्रै होइन,’ उनले भनिन्, ‘देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसानहरूको यो साझा समस्या हो। जब एउटा किसानले आफ्नो पसिनाको मूल्य पाउन महिनौँ, वर्षौँ कुर्नुपर्छ, तब उसले गाईभैँसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ? त्यसैकारण आज ऊर्जावान् युवाहरू आफ्नो उर्वर जमिनलाई बाँझो छाडेर खाडीको मरुभूमि रोज्न बाध्य छन्।’





प्रतिक्रिया