तीन वर्षभित्र २ खर्ब २० अर्ब लागतका ६ सिँचाई आयोजना सक्ने सरकारको तयारी

1.7k
Shares

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र राष्ट्रिय गौरव आयोजनामा सूचीकृत रहेका ६ वटा सिँचाईका आयोजना सम्पन्न गर्ने गृहकार्य सुरु गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतका ६ वटा राष्ट्रिय गौरवका सिँचाई आयोजना आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गृहकार्य सुरु गरेको हो ।

विगतमा स्रोत सहमति, बजेट अभाव तथा निर्माण प्रक्रियामा भएको ढिलाइका कारण यस्ता आयोजनाहरूले अपेक्षित गति लिन सकेका थिएनन् ।

तर नयाँ सरकार गठनसँगै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्न आवश्यक पर्ने पर्याप्त बजेट उपलब्ध गराएर कडाइका साथ कार्यान्वयन गर्ने गरी गृहकार्य सुरु गरेका छन् ।

यो मन्त्रालयअन्तर्गत बबई सिँचाई आयोजना, महाकाली सिँचाई आयोजना, सिक्टा सिँचाई आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना (प्रणाली आधुनिकीकरणसमेत), भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणाधीन अवस्थामा छन् ।

आगामी जेठ १५ गते आउने बजेटमार्फत ती आयोजनालाई आवश्यक स्रोत सुनिश्चित गर्दै निर्माण कार्यलाई तीव्र बनाइने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०४५/४६ देखि निर्माण सुरु भएको बबई सिँचाई आयोजनाले गत फागुनसम्ममा ७८.७४ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गरेको छ । यसको कूल संशोधित लागत १८ अर्ब ९६ करोड पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०६३/६४ देखि निर्माण सुरु भएको महाकाली सिँचाई आयोजनाले गत फागुनसम्ममा २६.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यसको कूल संशोधित लागत ३५ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी आर्थिक वर्ष २०६१/६२ देखि सुरु भएको सिक्टा सिँचाई आयोजनाले गत फागुनसम्ममा ४७.५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यसको कूल संशोधित लागत ५२ अर्ब ८९ करोड पुगेको छ ।

आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको रानी जमरा कुलरिया सिँचाई आयोजनाले गत फागुनसम्म ७४.८१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो आयोजनाको कूल संशोधित लागत २७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै आर्थिक वर्ष २०६८/६९ देखि सुरु भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले गत फागुनसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो आयोजनाको कूल संशोधित लागत ३६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

उता आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले फागुनसम्ममा ३७.१५ प्रतिशतको हाराहारीमा भौतिक लक्ष्य भेटेको छ भने यसको कूल संशोधित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

११३ प्रतिशतसम्म लागत वृद्धि, बजेट अभावले निर्माण कार्य सुस्त

आयोजनाहरू समयमै सम्पन्न नहुँदा लागत र समय दुवैमा भारी वृद्धि भएको पाइएको छ। सिंचाइतर्फका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरूको सुरुवाती लागत अनुमान १ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ रहेकोमा हाल ११३ प्रतिशतले वृद्धि भई संशोधित लागत २ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

यी आयोजनाहरूमा हालसम्म १ खर्ब ४ अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको छ। भौतिक प्रगतिको अवस्था हेर्दा विभिन्न आयोजनाहरूमा न्यूनतम २६.६५ प्रतिशतदेखि अधिकतम ८२.२७ प्रतिशतसम्म प्रगति भएको देखिएको छ।

यसैबीच, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स र पावर हाउसको ठेक्का सम्झौता अन्त्य भई नयाँ ठेक्का व्यवस्थापनको प्रक्रिया सुरु गरिएको छ।

जग्गा प्राप्तिमा ढिलाई, समयमा श्रोत सुनिश्चित नहुनु, बजेट अपर्याप्त, कार्ययोजनाअनुसार काम नहुनुलगायतका कारण यस्ता आयोजनाहरु निर्माण सम्पन्नमा ढिलाई भएको हो ।