नेपाल टेलिकमद्धारा गोरखाको दुर्गम क्षेत्रमा सेवा विस्तार



काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ।

कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका गमलाडाँडा र ल्होमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बिटीएस टावरबाट गमलाडाडाँ गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएको कम्पनीले जनाएको छ।

यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन्।

गोर्खा जिल्लाको विकट उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको हो । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पु¥याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गरेको जनाएको छ।


क्लिकमान्डु