नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो बाटो: विराटनगर–किमाथांका सडकको ट्र्याक खुल्यो

1.4k
Shares

विराटनगर । नेपाल, भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको ‘लाइफ लाइन’ मानिएको उत्तर–दक्षिण कोशी सडक आयोजनाको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ ।

विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्मको व्यापारिक मार्ग सडक सञ्जालमा जोडिएसँगै अब चीन र भारतबीचको सबैभन्दा छोटो दूरीको पहुँच मार्ग तयार भएको हो ।

आयोजनाका अनुसार सङ्खुवासभाको अति दुर्गम र जटिल भिर रहेको च्याम्ताङदेखि घोङ्गम्पासम्मको १०.८१ किलोमिटर खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

सेनाले गत वैशाख २८ गते आफ्नो जिम्मेवारी पूरा गरी सडक हस्तान्तरण गरेपछि आयोजनाले बाँकी खण्ड मर्मत सम्भार गरेको थियो । यससँगै उत्तरी नाका किमाथांकामा पहिलो पटक सवारी साधन पुगेका छन् । रानीदेखि किमाथांकासम्मको कुल दूरी ३४५ किलोमिटर रहे पनि सडकको नयाँ दूरी कायम हुन भने अझै बाँकी छ ।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको यो आयोजनाको रानी–खाँदबारी खण्ड (१८३ किलोमिटर) यसअघि नै सम्पन्न भई सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । हाल खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर खण्डमा स्तरोन्नतिका विभिन्न कामहरू भइरहेका छन् ।

आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ६१ करोड रुपैयाँ बजेटमध्ये हालसम्म ६५ प्रतिशत वित्तीय प्रगति भएको छ । अब ट्र्याक खोल्ने कार्य बाँकी नरहेकाले सम्पूर्ण ध्यान सडकको स्तरोन्नतिमा केन्द्रित गरिने उनको भनाइ छ ।

सडकको भौतिक प्रगतिबारे जानकारी दिँदै प्रमुख गुरुङले खाँदबारीदेखि देउरालीसम्मको २८ किलोमिटर सडक कालोपत्रे भइसकेको बताए ।

यस्तै, देउरालीदेखि नुम (५२ किमि) र वरुणदेखि च्याङ्तान (५४ किमि) सम्मको सडकलाई ग्राभेल गर्ने कार्य जारी छ ।

सेनाले बुझाएको च्याङ्तान–घोङ्गम्पा खण्ड र बाँकी १२ किलोमिटर सडकलाई पनि क्रमशः स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यद्यपि, सो क्षेत्रमा हुने निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण कालोपत्रे र ग्राभेलको काममा केही चुनौती देखिएको आयोजनाको भनाइ छ ।

यो सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै चीनको सिगात्से र छेन्दुङसम्म विस्तार भएको चिनियाँ रेल सेवासँग नेपालको सिधा व्यापारिक सम्बन्ध जोडिने अपेक्षा गरिएको छ ।

त्रिदेशीय व्यापारको ढोका खोल्ने यो सडक निर्माणले मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ । तर, सडकको ट्र्याक खुले पनि यसलाई पूर्ण रूपमा व्यापारिक प्रयोगमा ल्याउन भने अझै केही समय लाग्ने देखिएको छ ।