
काठमाडौं । जनकपुर एग्रो फार्मले एकै वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १२ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा ६० करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार गत आवमा ८६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीका अनुसार गत आवमा कुखुराको अण्डाको बिक्री उच्च हुँदा व्यापारमा उल्लेख्य वृद्धि भएको हो । कम्पनीले चालु आवको ८ महिनाको अवधिमा ७४ करोड ७० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
कम्पनीको चालु आवको ८ महिनाको अवधिमा व्यापार भने ३२ प्रतिशतले कम भएको जनाइएको छ ।
कम्पनीले गत आवमा २४.२५ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा २२.२२ प्रतिशत नाफा कमाएको थियो । कम्पनीको हाल २० करोड २० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको छ । सन् २०२४ मा १० करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चय थियो ।सन् २०१८ मा स्थापना भएको
कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीका रूपमा परिणत भएको थियो । कम्पनीले पोल्ट्री फार्मिङ गर्दै आएको छ । कम्पनीले लेयर्स अण्डा र अर्गानिक मल उत्पादन गर्दै आएको छ । कम्पनीका दुई वटा ग्रोअर सेड छन् । उक्त सेडको प्रत्येकको ५० हजार कुखुरा उत्पादन क्षमता छ । त्यसैगरी, पाँच वटा लेयिङ सेडमध्ये ४ वटा सेडको प्रत्येकको एक लाख कुखुरा उत्पादन क्षमता छ ।
कम्पनीले कुखुरा उत्पादनसँगै अर्गानिक मल उद्योग र सीएनजी बायोग्यास प्लान्ट पनि निर्माण गर्ने भएको छ । कम्पनीले वार्षिक ८ हजार ७ सय २० टन उत्पादन क्षमता भएको मल उद्योग निर्माण गर्ने भएको हो ।
साथै, कम्पनीले बायोग्यास सीएनजी प्लान्ट पनि निर्माण गर्नेछ ।
कम्पनीको दुई पुलेट हाउसेस र लेयर्स हाउसेस ‘एल वान’ र ‘एल टु’ सन् २०२३ देखि सञ्चालनमा आएका थिए । लेयर हाउस ‘एल थ्री’ सन् २०२४ को अन्त्यबाट र ‘एल फोर’ सन् २०२५ बाट सञ्चालनमा ल्याइएको थियो । लेयर हाउस ‘एल फाइभ’ भने निर्माणाधीन चरणमै छ ।
कम्पनीका अनुसार लेयर हाउस फाइभ र बायोग्यास प्लान्ट निर्माण गर्न ३२ करोड रुपैयाँ खर्च हुने छ । कम्पनीले उक्त हाउस सन् २०२७ देखि सञ्चालनमा ल्याउने योजना बनाएको छ । हालसम्म कर्जाको व्यवस्थापन भइसकेको कम्पनीको भनाइ छ ।
खुमाप्रसाद अर्याल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४३ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया