पश्चिम एसियामा दीर्घकालीन युद्धविराम र समुद्री मार्गहरू पुनः खोल्न चीनको आग्रह

217
Shares

एजेन्सी । चीनले शुक्रबार पश्चिम एसियामा दीर्घकालीन युद्धविरामको आह्वान गरेको छ र इरानसँगको द्वन्द्वका क्रममा रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलयोजक प्रभावकारी रूपमा बन्द भएपछि सामुद्रिक यातायात मार्गहरू चाँडोभन्दा चाँडो पुनः खोल्न आग्रह गरेको छ ।

बेइजिङमा भएको शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको वार्ताका क्रममा यस विषयमा छलफल भएको थियो ।

चीनले तेहरानलाई सैन्य सहायता उपलब्ध गराउने तयारी नगरेको भन्दै आफूलाई आश्वस्त पारेको ट्रम्पले शिखर सम्मेलनको पहिलो दिनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा बताए । ‘उनले भने कि उनले सैन्य उपकरण दिने छैनन्… उनले यो कुरा दृढताका साथ भने,’ ट्रम्पले बताए ।

सीले हर्मुज जलयोजक पुनः खोल्ने कुरालाई समर्थन गरेको र तनाव कम गर्न सहयोग गर्ने प्रस्ताव राखेको ट्रम्पले थपे । ‘उनी हर्मुज जलयोजक खुला भएको हेर्न चाहन्छन् र भने ’यदि मबाट कुनै पनि प्रकारको सहयोग हुन सक्छ भने, म मद्दत गर्न चाहन्छु,’ ट्रम्पले भने ।

दुई नेताहरूबीच यस विषयमा छलफल भएको थियो कि थिएन भनेर सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले पश्चिम एसियामा शान्ति र स्थिरता पुनः कायम गर्न मद्दत पुर्याउनका लागि चाँडोभन्दा चाँडो दीर्घकालीन युद्धविराम प्राप्त हुनेमा उसले आशा राखेको बतायो ।