
विराटनगर । भारतीय चिया बोर्डको नयाँ प्रावधानका कारण दुई सातादेखि काँकरभिट्टा नाकाबाट नेपाली चिया निकासी ठप्प छ।
यो अवधिमा सरकारले निकासी पुन सुरू गर्न कुनै कूटनीतिक पहल नगरेको चिया उत्पादक किसानले गुनासो गरेका छन् ।
भारतको चिया बोर्डले नेपाली चिया निकासीमा अघोषित नाकाबन्दी गरे पनि काँकरभिट्टा नाकाबाट तेस्रो मुलुकमा चिया निर्यात जारी रहँदा चिया उत्पादक किसानलाई सामान्य राहत पुगेको छ ।
यो साता १३ टन चिया रुस निकासी भएको मेची भन्सारको तथ्यांक छ ।
भारतीय चिया बोर्डले वैशाख १८ (मे १) देखि नेपालबाट निर्यात हुने चियाको हकमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै चिया निकासी ठप्प छ ।
पछिल्लो पटक गत मंगलबार नेपालबाट गएर भारतको पानीट्यांकी भन्सारले जाँचपास गरेको ९ हजार किलो चिया भारतीय चिया बोर्डले रोकेको छ ।
नेपालको हिमालय साङ्ग्रिला ट्रेडर्सले कोलकाताको ग्रिनसिल ट्रेडर्सका नाममा निकासी गरेको उक्त चिया भारतीय चिया बोर्डले परीक्षणका नाममा तीन दिनदेखि रोकेर राखेको हो ।
भन्सार क्लियरेन्स एजेन्ट सुशान्त साहका अनुसार भारतीय भन्सारले चिया जाँचपास गरेलगत्तै भारतीय चिया बोर्डले स्याम्पल लिने निहुँमा सबै बोरा खोली स्याम्पल लिएर ढुवानीकर्तालाई आयातकर्ताको वेयर हाउसमा चिया राख्न आदेश दिएको छ ।
त्यसअघि गत शुक्रबार ३ हजार ३९५ किलो चिया भारतको पानीट्यांकी भन्सारले पनि पूर्ववत् रूपमै चियाको जाँचपास गरे पनि भारतीय चिया बोर्डका नाममा क्वारेन्टाइनले अनेकन दुःख दिएर निकासी भएको व्यापारीहरूले बताएका छन् ।
काँकरभिट्टा भन्सारका अनुसार वैशाख १८ यता नेपाली चिया निकासी भएको यो पहिलो हो। सामान्य अवस्थामा दैनिक २–३ ट्रक चिया भारत निकासी हुँदै आएको भन्सार प्रमुख शिवलाल न्यौपानेले बताए ।
‘सामान्य अवस्थामा काँकरभिट्टाबाट २–३ ट्रक चिया निकासी हुन्थ्यो । वैशाख १८ यता दुई ट्रक मात्र भारत गएको छ,’ न्यौपानेले भने, ‘त्यसमा पनि एक ट्रक गन्तव्यमा पुग्यो । अर्को ट्रक चिया बोर्डले तीन दिनदेखि रोकेको सुनिएको छ ।’
न्यौपानेका अनुसार अहिले भारत निकासीका लागि कसैले पनि फर्म बुझाएका छैनन् । बरु तेस्रो मुलुक निकासीका लागि धमाधम फर्म आइरहेका छन् । यो साता मात्र १३ टन चिया रुस निकासी भएको उनले जानकारी दिए ।
भारतले नेपाली चिया निकासी नियोजित रूपमा अवरुद्ध गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीको दाबी छ । ‘चिया निकासीका लागि भारतीय भन्सार जाँचपास गर्छ । तर त्यही चिया ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणका नाममा चिया बोर्डले रोक्नु नियोजित हो,’ पराजुलीले भने ।
भारतीय भन्सारले प्रति २० ट्रक चिया निकासी हुँदा एउटा नमुना परीक्षण गर्छ । तर चिया बोर्डले हरेक बोरा खोलेर परीक्षणका नाममा नमुना लिनु र ट्रकलाई दुई सातासम्म पार्किङमा राख्नु भनेको नियतवश निकासी अवरुद्ध गर्नु भएको पराजुली बताउँछन् ।
खोलावारि नेपाल र खोलापारि भारतमा चियाको एउटै बिरुवा रोपिएको छ । ‘उस्तै हावापानीमा चिया उत्पादन हुँदा नेपालको चियाको नमुना परीक्षण गर्नु र निकासी नै रोक्नु नियोजित हो,’ पराजुलीले भने ।
भारतमा वार्षिक एक अर्ब ४० करोड किलो चिया उत्पादन हुन्छ । नेपालबाट वार्षिक १ करोड २५ लाख किलो चिया भारत पुग्छ । ‘भारतीय चिया बजारको समुद्रमा नेपाली चिया प्रवेशको हिस्सा पौने एक प्रतिशत पनि छैन’, उनले भने, ‘यस्तो अवस्थामा भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध पुऱ्याउनु भनेको नियोजित अघोषित नाकाबन्दी सरह हो ।’
दुई सातादेखि चिया निकासी ठप्प हुँदा सरकारले कूटनीतिक पहल नगरेको पराजुलीको आरोप छ ।
‘चिया किसान र व्यापारीका लागि अहिले मुलुकमा सरकार नै नभएझैँ भएको छ,’ उनले भने, ‘हामीले गुनासो गर्ने ठाउँ पनि पाएका छैनौँ ।’

अहिले चिया विकास बोर्ड नेतृत्वविहीन हुँदा पनि समस्या भएको पराजुली बताउँछन् । ‘सम्बन्धित मन्त्रीलाई भेट्न सकिँदैन । हाम्रो गुनासो कसलाई सुनाउने ?,’ पराजुलीले भने, ‘चिया किसान र व्यापारी मुलुकमा सरकार भएको अनुभव गर्न पाएका छैनौँ।’
वैशाख दोस्रो सातासम्म नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर वैशाख १८ गतेदेखि भारत प्रवेश गर्ने नेपाली चिया बोकेका हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था भारतीय पक्षले गरेपछि निकासी प्रभावित भएको हो ।
नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डको नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउनेछन् ।
त्यसका लागि झण्डै दुई साता समय लाग्ने अवस्था छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ । उक्त अवधिभर न त त्यो चिया बेच्न पाइनेछ, न त पुनः निर्यात नै गर्न पाइनेछ । गुप्ताले भने, ‘सरकार र भारतीय पक्षले यसको टुङ्गो नलगाएसम्म चिया निकासी गर्ने स्थिति छैन।’
नेपालबाट चिया बोकेर गएका ढुवानी साधनलाई भारतीय पक्षले भारतको पानीट्यांकीमा रोकेर नमुना संकलन र गुणस्तर परीक्षणपश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको उनले बताए ।
नेपाली चिया काँकरभिट्टाबाट छुटेर पारिको पानीट्यांकी नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्नेछन्।

प्रति नमुना परीक्षणको लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको गुप्ताले बताए ।
प्रयोगशालाको रिपोर्ट आउन कम्तीमा दुई साता लाग्छ । त्यतिबेलासम्म काँकरभिट्टा नाकाबाट चिया बोकेर पारिको पानीट्यांकी नाकामा पुगेका ट्रक त्यहीँ पार्किङ गर्नुपर्ने बाध्यता छ । त्यसकै कारण पनि चार दिनदेखि चिया लोड नभएको गुप्ताको भनाइ छ।
प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ ।
दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
अहिले नेपालबाट चिया पठाउनु भनेको गुणस्तर परीक्षणका नाममा कम्तीमा दुई सातासम्म भारतीय भन्सारमा पार्किङ गरेर राख्नु भएको उनी बताउँछन् । ‘ल्याबको रिपोर्ट सन्तोषजनक नआए फिर्ता ल्याउनु वा त्यहीँ नष्ट गर्नुको विकल्प छैन,’ गुप्ताले भने, ‘यस्तो अन्योलको टुङ्गो नलागेसम्म चिया निकासी हुने स्थिति छैन ।’
पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा उत्पादन हुने करिब ४ अर्बको चिया भारत निकासी हुँदै आएको थियो ।
संसद्मा उठ्यो कुरा, सरकार मौन
दुई सातादेखि नेपाली चिया निकासी रोकिएको विषयमा संघीय संसदमा सांसदहरूले कुरा उठाएका छन् । तर सरकारले भने त्यसबारेमा कुनै चासो देखाएको छैन ।
बुधबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले भारतीय टी बोर्डले गत वैशाख १८ गतेदेखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ का कारण नेपाली चिया निर्यात ठप्प भएको बताए । जसका कारण किसान श्रमिक, उद्योगी र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको उनको भनाइ छ ।

नेपालमा १६३ वर्ष लामो इतिहास बोकेको चिया क्षेत्र अहिले संकटमा परेको उल्लेख गर्दै सांसद नेम्वाङले भने, ‘विसं. १९२० मा इलामबाट सुरु भएको चिया आज १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीवनसँग जोडिएको छ । टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले निर्यात ठप्प हुँदा किसान, श्रमिक, उद्योगी र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ ।’
सांसद नेम्वाङले आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब ४ अर्ब ५९ करोड रूपैयाँको चिया निर्यात भएको तथ्यांक प्रस्तुत गर्दै भने, ‘म सरकारसँग आग्रह गर्न चाहन्छु– भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया उद्योगी एवं किसानहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस् ।’





प्रतिक्रिया