
विराटनगर । भारतीय चिया बोर्डको नयाँ प्रावधानका कारण सातादेखि काँकरभिट्टा नाकाबाट रोकिएको नेपाली चियाको निकासी बिहीवार अपराह्नबाट आंशिक सुचारु भएलगत्तै पुनः रोकिएको छ ।
शुक्रवार ३ हजार ३९५ किलो चिया काँकरभिट्टा भन्सारबाट भारत गयो । भारतको पानीट्याङ्की भन्सारले पनि पूर्ववत् रूपमै चियाको जाँचपास गर्यो । तर भारतीय चिया बोर्डका नाममा क्वारेन्टाइनले अनेकन दुःख दिए पनि निकासीकर्ताले गन्तव्यतर्फ लगे । काँकरभिट्टा भन्सार स्रोतले भन्यो, ‘त्यही दुःखका कारण बिहीवार भने चिया निकासीकालागि भन्सारसमक्ष फाराम नै पेश भएन ।’
भारतीय चिया बोर्डले गत शुक्रवार अर्थात् मे १ देखि नेपालबाट निर्यात हुने चियाको हकमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै गत शुक्रवारदेखि चिया निकासी ठप्प थियो ।
चियाको यो समस्यालाई नेपाल-भारतबीच लिपुलेकका बारेमा नेपालले पठाएको कूटनीतिक नोटको नाममा भारतले गरेको सांकेतिक विरोधका रूपमा यस क्षेत्रका व्यवसायीले बुझेका छन् ।
भारतले केही दिनअघि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेको थियो । त्यसको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै लिपुलेक आफ्नो भूमि भएको उल्लेख गर्दै विवादित क्षेत्रमा कुनै गतिविधि नगर्न भारत र चीनलाई आग्रह गरेको थियो । त्यसको जवाफमा भारतले मानसरोवर जाने उक्त मार्ग पुरानै विषय भएको दाबी गरेको थियो । एक व्यवसायीले भने, यसको विरोधस्वरूप भारतले नेपाली चिया निकासीमा अवरोध गरेको हाम्रो बुझाइ छ ।
भारतीय भन्सारले अबको एक महिनासम्म पूर्ववत् रूपमा नेपाली चियाको भन्सार जाँचपास गर्ने आश्वासन दिएका छन् । भन्सार स्रोतले भन्यो, ‘चिया निकासीकालागि भारतीय भन्सारको अवरोध छैन । समस्या भारतीय चिया बोर्ड र क्वारेन्टाइनको नयाँ प्रावधान हो । भन्सार टु भन्सार समस्या छैन । समस्या चिया बोर्डसँग हो । चिया बोर्डसँग काँकरभिट्टा भन्सार प्रशासनको पहुँच पुगेन ।’
बिहीवार ३ हजार ३९५ किलो चिया निकासी भयो । निर्यातकर्ता सुसान्त साहले भने, ‘नेपालबाट गएको चिया भारतको पानीट्याङ्की भन्सारले सहज रूपमा जाँचपास गरे पनि भारतीय चिया बोर्डका नाममा त्यहाँको क्वारेन्टाइनले अनेकन झन्झट दियो। त्यो झन्झटका बाबजुद चिया निकासी भयो ।’ साहका अनुसार त्यही झन्झटका कारण बिहीवार कुनै पनि चिया निकासीकर्ताले निकासीकालागि फाराम नै भरेनन् ।
भारतको पानीट्याङ्कीमा चिया बोर्डको कार्यालय खुलेको छ । त्यहाँ कोही पनि कर्मचारी छैनन् । एक निकासीकर्ताले भने, ‘चिया बोर्डका नाममा क्वारेन्टाइन कर्मचारीले यसो गर र उसो गर भनेर हैरान पार्छन् । भन्सारले पूर्ववत् रूपमा जाँचपास गर्छ’ ती निकासीकर्ताले भने, ‘तर क्वारेन्टाइनका कर्मचारीले चिया बोर्डका नाममा दुःख दिएर निकासी नै अवरुद्ध गर्ने प्रयास गरेकै कारण निकासीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’
भारतीय चिया बोर्डले मे १ देखि नेपालबाट निर्यात हुने चियाको हकमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गर्ने तयारी गरेपछि शुक्रवार ३ हजार ३९५ किलो चिया निकासीकालागि काँकरभिट्टा भन्सारमा निकासी फाराम परेको थियो । भन्सारका अनुसार त्यसपछि चिया निकासीकालागि एउटा पनि फाराम पेश भएको छैन ।
नेपाली चिया निकासीकालागि झापा, मेची, भद्रपुर र इलाम उद्योग वाणिज्य संघले दैनिक उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएका थिए । ती चारवटै निकायबाट एक सातामा ३ हजार ३९५ किलो चिया निकासीकालागि उत्पत्तिको प्रमाणपत्र जारी भएबाहेक थप चिया निकासीकालागि उत्पत्तिको प्रमाणपत्र जारी हुन नसकेको झापा उद्योग वाणिज्य संघले जनाएको छ । गत शुक्रवारअघिसम्म ती चार निकायबाट दैनिक सरदर एक गाडी चिया निकासीकालागि उत्पत्तिको प्रमाणपत्र जारी हुँदै आएको थियो ।
गत बिहीवारसम्म नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिक रूपमा मात्र गरिन्थ्यो । तर गत शुक्रवारदेखि भारत प्रवेश गर्ने नेपाली चिया बोकेका हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था भारतीय पक्षले गरेपछि निकासी प्रभावित भएको हो ।
नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डको नयाँ व्यवस्थापछि हिजो एक कन्साइनमेन्ट चिया गयो । तर चिया बोर्डका नाममा क्वारेन्टाइनले अचाक्ली दुःख दिएपछि आजदेखि निकासीकर्ताले भन्सारमा फाराम नै पेश गरेका छैनन् ।
काँकरभिट्टा नाकाबाट वार्षिक सरदर झण्डै चार अर्ब मूल्य बराबरको चिया निकासी हुँदै आएको थियो ।
नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इनभ्वाइससहितको विस्तृत विवरण बुझाउनुपर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउनेछन् ।
त्यसकालागि झण्डै दुई सातासम्म समय लाग्ने अवस्था छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ । उक्त अवधिभर न त त्यो चिया बेच्न पाइनेछ, न त पुनः निर्यात नै गर्न पाइनेछ । गुप्ताले भने, ‘सरकारले भारतीय पक्षले यसको टुङ्गो नलगाएसम्म चिया निकासी गर्ने स्थिति छैन ।’
उनले भने,’नेपालबाट चिया बोकेर गएका ढुवानी साधनलाई भारतीय पक्षले भारतको पानीट्याङ्कीमा रोकेर नमुना संकलन र गुणस्तर परीक्षणपश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।’
नेपाली चिया काँकरभिट्टाबाट छुटेर पारिको पानीट्याङ्की नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००-५०० ग्रामका दुईवटा नमुना संकलन गर्नेछन् ।
प्रति नमुना परीक्षणका लागि ११ हजार १२० भारतीय रुपैयाँ (करिब १७ हजार ८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको गुप्ताले बताए ।
प्रयोगशालाको रिपोर्ट कम्तीमा दुई साता लाग्छ । त्यतिवेलासम्म काँकरभिट्टा नाकाबाट चिया बोकेर पारिको पानीट्याङ्की नाकामा पुगेका ट्रक त्यहीँ पार्किङ गर्नुपर्ने बाध्यता छ । त्यसकै कारण पनि चार दिनदेखि चिया लोड नभएको गुप्ताको भनाइ छ ।
प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
‘अहिले नेपालबाट चिया पठाउनु भनेको गुणस्तर परीक्षणका नाममा कम्तीमा दुई सातासम्म भारतीय भन्सारमा पार्किङ गरेर राख्नु हो । ल्याबको रिपोर्ट सन्तोषजनक नआए फिर्ता ल्याउनु वा त्यहीँ नष्ट गर्नुको विकल्प छैन,’ गुप्ताले भने, ‘यस्तो अन्योलको टुङ्गो नलागेसम्म चिया निकासी हुने स्थिति छैन ।’
पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा चियाको उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको चियाको ठूलो हिस्सा भारत निर्यातमा निर्भर छ ।





प्रतिक्रिया