संकटमा खाडीको स्वर्ण युग, हर्मुज जलयोजकमा जारी तनावले अर्थतन्त्र धराशायी हुने जोखिम

217
Shares

एजेन्सी । अमेरिका र इरानबीचको अस्थायी युद्धविराम दीर्घकालीन भूराजनीतिक र आर्थिक संकटमा परिणत हुँदा खाडीका राजतन्त्रात्मक मुलुकहरू गम्भीर संरचनात्मक जोखिममा परेका छन् ।

दशकौंदेखि आर्थिक वृद्धिको स्वर्ण युग भोगिरहेका साउदी अरब, यूएई, कतार र बहराइन जस्ता देशहरूको भविष्य अहिले हर्मुज जलयोजकमा जारी अवरोधका कारण संकटमा परेको छ ।

विश्वको कुल तेल खपतको करिब २० प्रतिशत र तरल प्राकृतिक ग्यास (एलएनजी) व्यापारको झण्डै २० प्रतिशत दैनिक रूपमा हर्मुज जलयोजक भएर जान्छ । ऊर्जा निर्यात, आयात, पर्यटन र लगानीकर्ताको विश्वासका लागि यसै मार्गमा निर्भर रहेका खाडी मुलुकहरूमा अहिले यसको विनाशकारी प्रभाव देखिन थालेको छ ।

खाडी मुलुकहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा तेल र ग्यासको हिस्सा झण्डै २५ प्रतिशत छ र सरकारी खर्चको मुख्य स्रोत पनि यही नै हो । पछिल्लो रिपोर्ट अनुसार, साउदी अरबको तेल निर्यात ३३ प्रतिशतले घटेको छ भने संयुक्त अरब अमिरातको निर्यात ५० प्रतिशतले ओरालो लागेको छ । यस्तै, कुवेत र कतारमा पनि ऊर्जा ढुवानीमा गम्भीर अवरोध उत्पन्न भएको छ जसले गर्दा कतारको एलएनजी निर्यात ठप्प प्रायः छ ।

खाडी मुलुकको अर्थतन्त्रमा ११ प्रतिशतभन्दा बढी योगदान दिने पर्यटन र उड्डयन क्षेत्रमा पनि ठूलो धक्का लागेको छ । बहराइनमा होटलमा हुने खर्च ६४ प्रतिशतले घटेको छ । रेटिङ एजेन्सी मुडिजका अनुसार, दुबईका होटलहरूको अकुपेन्सी (भर्ने दर) ८० प्रतिशतबाट घटेर मात्र १० प्रतिशतमा झर्ने देखिएको छ ।

इमिरेट्स एयरलाइन्सले मार्च–अप्रिल महिनामा मात्र ४७ लाख यात्रु बोकेको छ जुन उसको सामान्य क्षमताको आधा मात्र हो ।

संकटको समयमा बजारमा त्रास फैलिन नदिन र अर्थतन्त्रलाई चलायमान राख्न खाडी मुलुकहरूले आफ्नो विशाल वित्तीय सञ्चिति उपयोग गरिरहेका छन् । यूएईका बैंकहरूले १.६ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज घोषणा गरेका छन् । यस्तै, बहराइनको अर्थतन्त्र बचाउन यूएईले ५.४ अर्ब डलरको करेन्सी–स्वाप बेलआउट उपलब्ध गराएको छ । साउदी अरबले आफ्नो आयातका लागि लाल सागरका बन्दरगाहहरू प्रयोग गर्दै वैकल्पिक स्थलमार्गबाट सामान ओसार्न थालेको छ ।

विज्ञहरूका अनुसार, खाडी मुलुकका लागि भौतिक आक्रमणभन्दा पनि ठूलो खतरा लगानीकर्ताको विश्वास गुम्नु हो । दशकौंदेखि यी मुलुकहरूले आफूलाई स्थिर व्यावसायिक हब, सुरक्षित वित्तीय केन्द्र र भरपर्दो ऊर्जा आपूर्तिकर्ताका रूपमा विश्वसामु प्रस्तुत गर्दै आएका थिए ।

बहुराष्ट्रिय कम्पनी, पर्यटक र लगानीकर्ताहरूले खाडी क्षेत्र अब सुरक्षित छैन भन्ने महसुस गरेमा यसको असर वर्तमान युद्ध भन्दा धेरै लामो समयसम्म रहनेछ । यसले विशेषगरी साउदी अरबको महत्त्वाकांक्षी भिजन २०३० र नियोम शहर जस्ता ठूला आयोजनाहरू, यूएईको प्रविधि विस्तार र कतारको विश्वकपपछिको लगानी अभियानलाई पूर्ण रूपमा प्रभावित पार्न सक्ने देखिएको छ ।

Skip This