
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार, पार्किङ शुल्क व्यवस्थापन तथा बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूको सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन्।
बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालीन आपूर्ति सुनिश्चित गर्न भण्डारण क्षमता वृद्धि अपरिहार्य रहेको बताए। उनले भण्डारण संरचना अभावकै कारण बेला-बेलामा आपूर्तिमा समस्या देखिने गरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।
भारतको बिहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म विस्तार गरिएको पाइपलाइनले सहजता प्रदान गरेको भन्दै सुदूरपश्चिमको कञ्चनपुरमा पनि भण्डारण संरचना निर्माण गरिनुपर्नेमा उनको जोड थियो। उनले भने, ‘हामीले जबसम्म पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सक्दैनौँ, तबसम्म आपूर्तिको समस्या रहिरहन्छ। भारतको उत्तराखण्डको हल्द्वानीदेखि सबैभन्दा नजिक सुदूरपश्चिमको महेन्द्रनगर पर्दछ, त्यहाँ संरचना निर्माण गर्दा सहज हुने देखिन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा कार्कीले व्यावसायिक क्षेत्रमा अव्यवस्थित पार्किङ शुल्कले सर्वसाधारण मारमा परेको बताइन्। सेवाग्राहीले पसल तथा बैंकबाट सेवा लिँदा पनि चर्को पार्किङ शुल्क तिर्नुपर्ने अवस्था रहेको भन्दै उनले निश्चित समयसम्म निःशुल्क पार्किङको व्यवस्था गर्न माग गरिन्। तोकिएको समयसीमा नाघेपछि मात्रै अतिरिक्त शुल्क वा जरिवाना लिन सकिने व्यवस्था गर्न उनले सुझाव दिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले देशभरका पुराना उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल स्थलगत अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले उदयपुर सिमेन्ट उद्योगको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै समितिसमक्ष अनुगमनको माग गरे।
साथै, सांसद तामाङले उदयपुर क्षेत्रमा टिप्पर सञ्चालनका कारण स्थानीयवासी धुलो र प्रदूषणबाट प्रताडित भएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। ‘देशका पुराना उद्योगहरू बन्द हुने अवस्थामा छन्। उदयपुरको गैँडा सिमेन्टको हालत पनि त्यस्तै छ। बैठक बन्द कोठामा मात्र नगरी समस्या भएको फिल्डमै गएर अनुगमन गर्नुपर्छ। मेरो क्षेत्रमा टिप्परका कारण उड्ने धुलोले गर्दा बिदाको दिन घरमा बसेर खाना खान सक्ने अवस्था समेत छैन,’ उनले भने ।
बैठकमा सहभागी अधिकांश सांसदहरूले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन वैकल्पिक मार्ग र भण्डारणको खोजी गरिनुपर्नेमा जोड दिएका थिए।





प्रतिक्रिया