
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामै शोधनान्तर बचत ७ खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्त) सम्मको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिति र चालु खाता दुवै उच्च बचतमा रहेका छन् ।
चैतसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापारमा निर्यातमा सुधार र आयात केही बढे पनि रेमिट्यान्समा भएको लगातारको उच्च वृद्धिले शोधनान्तर बचतसँगै चालु खाता पनि उल्लेख्य रूपमा बढेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आवको चैतसम्म २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको चैतसम्म ५ अर्ब १० करोड डलर पुगेको छ ।
देशको चालु खातामा पनि उल्लेख्य सुधार भएको छ । चैतसम्म यो ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब २२ अर्ब ६७ करोड मात्र थियो ।
अमेरिकी डलरमा गत आवमा १ अर्ब ६४ करोड रहेको चालु खाता बचत चालु आवको सोही अवधिमा बढेर ४ अर्ब ३२ करोड डलर पुगेको छ ।
चैतसम्म खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोडबाट बढेर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा पनि वृद्धि भएको छ ।
गत आवको चैतसम्म ८ अर्ब ९४ करोड रहेको प्रत्यक्ष वैदेशिक लगानी बढेर १४ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।











प्रतिक्रिया