सरकारको नीति तथा कार्यक्रम ‘हात्ती आयो, हात्ती आयो फुस्सा: नेकपा

119
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गरेका छन् ।

नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको अपेक्षा गरिए पनि यो केवल विगतकै निरन्तरता मात्र भएको उनले बताए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक दुलालले सरकारको नीति तथा कार्यक्रमलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को संज्ञा दिए । उनले २०७४/७५ देखि नै प्रदेश र संघको नीति कार्यक्रम उस्तै शैलीमा आइरहेको उल्लेख गर्दै यसपटक पनि कुनै नयाँ ऊर्जा वा सोच नदेखिएको बताए ।

‘कतिपय कुरामा निरन्तरता हुनु स्वाभाविक भएपनि जुन खालको नयाँ अपेक्षा र सपना देखाइएको थियो, ती अधुरै रहेका छन् । नीति कार्यक्रम सुन्दै गर्दा यसमा नवीन शब्द र ऊर्जा हराएको महशुस भयो,’ उनले भने ।

सम्बोधनका क्रममा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र साह कबीचमै संसद हलबाट बाहिरिएको विषयलाई दुलालले ‘अशोभनीय हर्कत’ र ‘राष्ट्रिय लज्जा’ को विषय भएको बताए ।

‘मर्यादित राष्ट्र प्रमुखले आफैँले हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा बीचमै छोडेर हिँड्नु संसदीय मर्यादा विपरीत छ । सायद प्रधानमन्त्री ज्यूलाई आफ्नै कार्यक्रम सुन्न पनि बोर लागेर होला,’ उनले भने ।

सुशासन, विधिको शासन र रोजगारी सिर्जनाका सवालमा सरकार चुकेको उनको तर्क छ । निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले युवाहरूलाई स्वदेशमै रोक्ने र बन्द उद्योग सञ्चालन गर्ने आश्वासन दिएपनि नीति तथा कार्यक्रममा ती विषयले ठोस प्राथमिकता नपाएको उनले बताए । वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई फर्काउने र स्वदेशमै अवसर दिने खालका नविनतम कार्यक्रम आउने अपेक्षा पूरा नभएको उनले औँल्याए ।

नीति तथा कार्यक्रममा केही सकारात्मक बुँदाहरू रहेकाले आफू पूर्ण रूपमा निराश नभएको स्पष्ट पार्दै उनले कार्यान्वयनको पक्षमा भने कुनै ठूलो चुनौती नदेखिएको बताए ।

परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य रहने उनको विश्लेषण छ । यद्यपि, नयाँ सरकारले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गर्नुपर्नेमा सरकार चुकेको उनको निष्कर्ष छ ।