थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा जेलबाट रिहा

70
Shares

एजेन्सी । थाइल्यान्डका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा सोमबार प्यारोलमा रिहा भएका छन् ।

लामो समय अस्पतालमा बसेर जेल सजाय छल्न खोजेको भन्दै अदालतले उनलाई जेल पठाएको आठ महिनापछि उनी बाहिर निस्किएका हुन् । बाहिर निस्कँदा उनलाई स्वागत गर्न समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो ।

७६ वर्षीय यी प्रभावशाली व्यापारीले झण्डै २५ वर्षसम्म थाई राजनीतिमा आफ्नो वर्चस्व कायम राखे । तर, जेल परेका कारण र उनकै फ्यू थाई पार्टीले यस वर्षको चुनावमा अहिलेसम्मकै खराब नतिजा ल्याएपछि उनको प्रभाव केही घटेको छ ।

बैंककको क्लोङ प्रेम जेलबाट कपाल छोटो पारेर र सेतो सर्ट लगाएर मुस्कुराउँदै बाहिर निस्किएका थाक्सिनले आफ्ना परिवारका सदस्यहरूलाई अंगालो हाले । उनलाई लिन उनकी छोरी तथा राजनीतिक उत्तराधिकारी पेतोङतार्न शिनावात्रा पनि पुगेकी थिइन् ।

पेतोङतार्नलाई थाक्सिन जेल पर्नुभन्दा १० दिनअघि गत अगस्टमा अदालतले प्रधानमन्त्री पदबाट हटाएको थियो ।

उनलाई स्वागत गर्न भेला भएका सयौं समर्थकहरूले, जसमा धेरैजसो उनको पार्टीको पहिचान मानिने रातो रंगको लुगामा थिए, हामी थाक्सिनलाई माया गर्छौं भन्दै नारा लगाएका थिए ।

पत्रकारले कस्तो महसुस भइरहेको छ भनेर सोध्दा उनले आफ्ना दुवै हात टाउकोमाथि उठाएर धेरै राहत महसुस भएको बताए । उनले ठट्टा गर्दै भने, ‘म त लामो निद्रामा गएको थिएँ । अहिले मलाई केही पनि सम्झना छैन ।’

१५ वर्षको स्वनिर्वासनपछि सन् २०२३ मा थाक्सिन थाइल्यान्ड फर्किएका थिए । सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्री हुँदा शक्ति र पदको दुरुपयोग गरेको अभियोगमा उनलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । संयोगवश, उनी स्वदेश फर्किएकै दिन संसद्ले उनको पार्टीका एक सहयोगीलाई प्रधानमन्त्री चुनेको थियो ।

तर, जेलमा एक रात पनि नबसी उनले मुटु र छाती दुखेको गुनासो गरेपछि उनलाई अस्पतालको भीआईपी वार्डमा सारियो ।

पछि राजाले उनको सजाय घटाएर एक वर्षमा झारिदिए । थक्सिनले प्यारोलमा छुट्नुअघि ६ महिना अस्पतालमै बिताएका थिए ।

यद्यपि, सर्वोच्च अदालतले थाक्सिन र उनका डाक्टरहरूले सामान्य र अनावश्यक शल्यक्रियाको बहाना बनाएर अस्पताल बसाइ लम्ब्याएको ठहर गर्दै उनलाई बाँकी समय जेलमै बस्न आदेश दियो ।

आफ्नो निर्वासन र स्वदेश फिर्तीपछिको अधिकांश समय यी चर्चित व्यक्तित्व थाइल्यान्डको उथलपुथलपूर्ण राजनीतिमा हावी रहे । शक्तिशाली शिनावात्रा परिवारले चलाएका धेरै लोकप्रिय सरकारहरूका पछाडि उनकै मुख्य भूमिका थियो ।

तर, शिनावात्रा परिवारबाट वा उनीहरूको समर्थनमा प्रधानमन्त्री बनेकामध्ये छैटौं व्यक्तिका रूपमा पेतोङतार्नलाई अदालतले पदच्युत गरेपछि थाक्सिनको लागि राजनीतिक चुनौती सुरु भयो । फ्यू थाई सरकार ढल्यो र थक्सिन जेल पर्नुभन्दा केही दिनअघि मात्रै उनका पूर्वसहयोगी तर अहिलेका विरोधी अनुतिन चानविराकुल प्रधानमन्त्री बने ।

उबोन रत्चाथानी विश्वविद्यालयका राजनीतिशास्त्री तितिपोल फाकडीवानिचका अनुसार, थाक्सिनको रिहाइले उनको पार्टी फ्यू थाईलाई पुनर्जीवन दिन मद्दत पुग्न सक्छ । फेब्रुअरीको चुनावमा नराम्रो हार बेहोरेपछि यो पार्टी अहिले अनुतिनको गठबन्धन सरकारमा एक सानो साझेदारका रूपमा मात्र सीमित छ ।

तितिपोलले थपे, ‘तर, उनले निकै सावधानीपूर्वक पाइला चाल्नुपर्छ । उनले आफ्नो शक्तिलाई धेरै तन्काउन खोजे । उनी पर्दा पछाडि मात्रै बसे भने त्यो राम्रो हुनेछ । तर, उनको स्वभाव र व्यक्तित्व हेर्दा उनी कतिन्जेलसम्म पर्दा पछाडि बस्न सक्लान् भन्नेमा भने शंका छ ।’
आगामी सेप्टेम्बरमा उनको सजायको अवधि पूरा नभएसम्म थाक्सिनले खुट्टामा विद्युतीय एंकल मनिटर लगाउनुपर्नेछ ।

७६ वर्षीया समर्थक रोमानी नाकानोका अनुसार, उनलाई जेल हाल्नै हुँदैनथ्यो । जेलबाहिर भेटिएकी उनले भनिन्, ‘उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ । उहाँले जे गर्नुभयो, जनताकै लागि गर्नुभयो । उहाँ जनताले पेटभरि खान पाऊन् र सुखसँग बस्न सकून् भन्ने मात्र चाहनुहुन्थ्यो ।’