चीनको घरेलु बजारमा कारको बिक्री सात महिनादेखि घट्यो, निर्यात भने बढ्यो

63
Shares

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो सवारीसाधन बजार चीनमा आन्तरिक बिक्री लगातार सातौं महिना घटेको छ । तीव्र प्रतिस्पर्धाका बीच अप्रिलमा आन्तरिक बिक्री घटे पनि चिनियाँ कम्पनीहरूले विदेशी बजारलाई बढी प्राथमिकता दिएका कारण निर्यात भने बलियो देखिएको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, गत महिना आन्तरिक बिक्री अघिल्लो वर्षको तुलनामा २१.६ प्रतिशतले घटेर १४ लाखमा खुम्चिएको छ ।

इन्धनको उच्च मूल्यका कारण पेट्रोलियम इन्जिन भएका गाडीको बिक्री अपेक्षाभन्दा निकै कम रह्यो र प्लग–इन हाइब्रिड गाडीको माग पनि सुस्त देखियो, सीपीसीएका महासचिव कुई डोङशुले भने ।

कुल बिक्रीको ६०.६ प्रतिशत हिस्सा ओगट्ने विद्युतीय सवारी र प्लग–इन हाइब्रिडको बिक्री पनि ६.८ प्रतिशतले घटेको छ जुन लगातार चौथो महिनाको गिरावट हो ।

यसको विपरीत इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दा विदेशी बजारमा ईभीको माग ह्वात्तै बढेको छ । यसले गर्दा ईभी र प्लग–इन हाइब्रिडको निर्यात अघिल्लो वर्षको तुलनामा १११.८ प्रतिशतले बढेको छ जुन कुल सवारी निर्यातमा भएको ८०.२ प्रतिशतको वृद्धिलाई समेत उछिनेको छ ।

आन्तरिक बजारको सुस्ती र निर्यातको तीव्रताबीचको यो अन्तर विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीमा प्रस्टै देखिन्छ । विदेशी ढुवानी बलियो रहे पनि अप्रिलमा बीवाईडीको विश्वव्यापी बिक्री गिरावट लगातार आठौं महिनामा पुगेको छ ।

गत महिना मोर्गान स्टेनलीले यस वर्ष चीनको आन्तरिक र निर्यात बिक्रीमा समग्रमा २ प्रतिशतको गिरावट आउने आफ्नो अनुमानलाई यथावत राख्यो । तर, उसले निर्यात वृद्धिको अनुमानलाई भने १५ प्रतिशतबाट बढाएर ३३ प्रतिशत पुर्याएको छ ।

साथै, आन्तरिक बिक्रीमा हुने गिरावट पहिले अनुमान गरिएको ६ प्रतिशतबाट बढेर ११ प्रतिशत पुग्न सक्ने उसको प्रक्षेपण छ ।

चिनियाँ गाडी निर्माताहरू अहिले १ लाख ५० हजार युआन (करिब २२ हजार ५० डलर) भन्दा कम मूल्यका सस्ता गाडीहरू छोडेर ठूला र धेरै सुविधायुक्त गाडीतर्फ आकर्षित भइरहेका छन् । गत महिना बेइजिङ अटो शोमा प्रदर्शन गरिएका महँगा एसयूभीहरूले चिनियाँ कम्पनीहरू प्रिमियम बजारमा छिर्न खोजेको स्पष्ट पारेका छन् ।

यसले नियो र जिलीको जीकर जस्ता प्रिमियम ब्रान्डहरूलाई थप ऊर्जा मिलेको छ ।

तर, हाल चिनियाँ ब्रान्डहरूकै वर्चस्व रहेको प्रिमियम ईभी र हाइब्रिड गाडीको राम्रो वृद्धिले मात्रै समग्र बजारको गिरावटलाई थाम्नै सकेन । नयाँ गाडी बिक्रीको ठूलो हिस्सा ओगट्ने सस्ता गाडीहरूको कमजोर मागले यस क्षेत्रको प्रगतिलाई अझै पछाडि धकेलिरहेको छ ।

तल्लो तहका गाडीहरूको सुस्त बिक्री नै यो क्षेत्रको पुनरुत्थानमा मुख्य बाधक बनेको सीपीसीएका कुईले बताए ।

उनले चीनलाई जापानको केई कार जस्तै साना गाडीहरूको मापदण्ड अपनाउन सुझाव दिएका छन् । यसले वृद्धवृद्धा र ग्रामीण उपभोक्ताहरूलाई लक्षित गरी एउटा व्यवस्थित र सस्तो बजार सिर्जना गर्नेछ जसले दबिएको मागलाई उजागर गर्दै सस्ता गाडीहरूको बिक्री बढाउन मद्दत पुर्याउनेछ ।