महाधिवेशन पूर्वसन्ध्यामा वरिष्ठ उपाध्यक्ष सिटौलाले देखाए यातायात क्षेत्रमा सुधारको खाँचो

217
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा अन्तिम तयारीमा पुगेको छ । महाधिवेशन नजिकिँदै गर्दा महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला ले यातायात क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी नेतृत्वको आवश्यकताबारे धारणा सार्वजनिक गरेका छन् ।

उनले महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने औपचारिक कार्यक्रम नभई नेपालको यातायात क्षेत्रको अस्तित्व, सम्मान र भविष्यसँग जोडिएको ऐतिहासिक अवसर भएको बताएका छन् । संघीयता कार्यान्वयन भएको लामो समय बितिसक्दा पनि यातायात क्षेत्र अझै अन्योल, असन्तुलन र अव्यवस्थाको चपेटामा रहेको उनको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट समन्वय नहुँदा व्यवसायीले फरक–फरक कानुनी व्याख्या, प्रशासनिक झन्झट र अनावश्यक दबाब झेल्नुपरेको उनले उल्लेख गरेका छन् । कम्पनी ऐनअनुसार यातायात संस्था कम्पनीमा रुपान्तरण भए पनि सञ्चालनसम्बन्धी स्पष्ट कार्यविधि नबनाइएको तथा यातायात प्राधिकरण गठनको विषय अझै कार्यान्वयनमा नआएको भन्दै उनले असन्तुष्टि जनाए ।

विशेषगरी रुट इजाजत प्रणाली प्रदेशअनुसार फरक अभ्यास र व्याख्याका कारण झन् जटिल बन्दै गएको उनको भनाइ छ । एउटै सवारी साधनले विभिन्न तहमा फरक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था, नवीकरणमा अनिश्चितता तथा राजनीतिक र प्रशासनिक प्रभावले यातायात क्षेत्र अस्थिर बन्दै गएको व्यवसायीहरूको गुनासो छ ।

सिटौलाले दुर्घटनापछि चालक, सहचालक र व्यवसायीले भोग्नुपर्ने पीडा झन् गम्भीर रहेको बताए । दुर्घटनाको समयमा उद्धारमा सक्रिय हुने यातायातकर्मी नै पछि कानुनी, आर्थिक र सामाजिक दबाबमा पर्ने अवस्था रहेको उनको भनाइ छ । बीमा प्रणाली प्रभावकारी बन्न नसकेको, दाबी भुक्तानी प्रक्रियामा जटिलता रहेको तथा एउटा दुर्घटनाले वर्षौंको कमाइ समाप्त हुने जोखिम रहेको भन्दै उनले बीमा कम्पनीहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले दुर्घटनापछिको उद्धार, राहत, कानुनी सहजीकरण र बीमा दाबी प्रक्रियालाई सरल, छिटो र विश्वासिलो बनाउनुपर्ने आवश्यकता औंल्याए । साथै, अबको नेतृत्व केवल ‘पद धान्ने’ नभई ‘परिवर्तनको नेतृत्व’ गर्न सक्ने हुनुपर्नेमा जोड दिए ।

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै डिजिटल टिकेटिङ, विद्युतीय भुक्तानी, जीपीएस निगरानी तथा विद्युतीय मतदान प्रणाली संस्थागत गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनले बताए । यात्रु सेवा सुधार, अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण तथा व्यवसायीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न पनि सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

इन्धन मूल्यवृद्धि, भाडा समायोजन, सडक अवस्था, बीमा, कर तथा नवीकरणका विषयमा सरकारसँग तथ्यका आधारमा संवाद गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे । चालक, सहचालक र कर्मचारीको सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र सम्मानलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत उनले जोड दिए ।

पुराना सवारी साधनको व्यवस्थापन र विद्युतीय सवारीसाधनबीच समान अवसर तथा राहत सुनिश्चित गर्न राज्यका तीनै तहसँग नीतिगत रूपमा संघर्ष गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याउँदै उनले संघीय संरचनाअनुसार एकीकृत यातायात कानुन निर्माण, वैज्ञानिक र पारदर्शी रुट इजाजत प्रणाली तथा स्थानीय तहले राजमार्गमा कर उठाउने प्रवृत्ति रोक्न पहल गर्नुपर्ने बताए ।

उनले यातायात क्षेत्रको अर्को गम्भीर समस्या दुई महासंघबीचको विभाजन भएको उल्लेख गर्दै एउटै पेशाका व्यवसायी विभाजित हुँदा राज्यले पनि उनीहरूको आवाजलाई गम्भीर रूपमा नलिने अवस्था बनेको बताए । विभाजनले आन्दोलन र अधिकार दुवै कमजोर बनाएको भन्दै उनले सम्मानजनक एकताको स्पष्ट आधार तयार गर्न महाधिवेशनले भूमिका खेल्नुपर्ने धारणा राखे ।

उनले व्यक्तिगत अहंकार, गुटगत राजनीति र पद मोहले यातायात क्षेत्र कमजोर बनेको भन्दै अब व्यवसायीलाई विभाजन होइन, साझा शक्ति आवश्यक रहेको बताए । महाधिवेशन राजनीतिक भागबण्डा र गुटगत समीकरणमा सीमित भए यातायात क्षेत्र थप संकटमा पर्ने चेतावनीसमेत उनले दिएका छन् ।

पोखराबाट जारी शुभकामना सन्देशमा सिटौलाले महाधिवेशनले एकता, नीतिगत सुधार, संघीय समन्वय, दुर्घटनापछिको सुरक्षा र व्यवसायीको सम्मानलाई केन्द्रमा राखे मात्र यातायात क्षेत्रले नयाँ दिशा पाउने विश्वास व्यक्त गरेका छन् ।