अमेरिकी प्रविधि कम्पनीहरूको उत्कृष्ट आम्दानी, चर्चामा छन् सेयरहरू

35
Shares

एजेन्सी । अर्को उत्कृष्ट आम्दानी सिजनपछि अमेरिकी प्रविधि कम्पनीका सेयरहरू पुनः चर्चामा आएका छन् । यस क्षेत्रले लगानीकर्ताहरूका लागि वर्षौंपछिकै सबैभन्दा राम्रो मूल्य प्रदान गरिरहेको मर्निङस्टारको विश्लेषणले देखाउँछ ।

सन् २०२४ र २०२५ को बजार चर्चामा अमेरिकी सेयर बजारको माथिल्लो तहमा फोका (बबल) बन्न थालेको डर बारम्बार व्यक्त गरिएको थियो किनकि विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी चर्चाका कारण ‘म्याग्निफिसेन्ट सेभेन’ कम्पनीहरूको मूल्यांकन निकै माथि पुगेको थियो ।

फ्याक्टसेटका अनुसार, अक्टोबर २०२५ मा यो अवस्था उत्कर्षमा पुगेको थियो जब एस एन्ड पी ५०० सूचना प्रविधि क्षेत्रको ‘फरवार्ड पी÷ई अनुपात’ ३० गुणाभन्दा माथि पुगेको थियो । तर, त्यसपछिका लगातारका बलिया आम्दानी सिजनहरूले प्रविधि स्टकहरूलाई उनीहरूको सेयर मूल्यअनुसार ‘हुर्कन’ मद्दत गरेका छन् ।

यसले मूल्य–आम्दानी समीकरणमा आम्दानीको मात्रा बढाएर मूल्यांकनको गुणांक घटाएको छ ।

एआई थिम अहिले सन् २०१९ यताकै सबैभन्दा ठूलो छुटमा कारोबार भइरहेको मर्निङस्टारको अनुसन्धानले संकेत गर्छ ।

मुख्य इक्विटी रणनीतिकार माइकल फिल्डका अनुसार, अनुसन्धानकर्ताहरूको आफ्नै ‘प्राइस–टु–फेयर–भ्यालु’ मापन प्रयोग गर्दा यस क्षेत्रमा लगानीका लागि ‘उत्कृष्ट प्रवेश विन्दु’ देखिएको छ ।

‘एआई कुनै फोका होइन जुन चाँडै फुट्नेछ । यसका आधारभूत पक्षहरू मजबुत छन्,’ फिल्डले भने ।

‘सेमिकन्डक्टरको माग अपेक्षाभन्दा बढी छ र डेटा सेन्टर तथा पूर्वाधार जस्ता मुख्य चालकहरू यथावत छन् । एआईको कथा अझै धेरै अगाडि बढ्नुछ र लगानीकर्ताहरूले यी अवसरहरू कायम रहँदासम्म यसको अधिकतम फाइदा उठाउनुपर्छ ।’

मर्निङस्टारको अनुसन्धानले सन् २०२६ को सुरुमा अमेरिकी सेयर बजारमा देखिएको उतारचढावले एआई स्टकहरूको कीर्तिमानी उच्च मूल्यांकनमा गिरावट ल्याएको र यसबाट सबैभन्दा बढी प्रभावित कम्पनीहरूको मूल्य अझ आकर्षक भएको उल्लेख गरेको छ ।

साक्सो बैंकका अनुसार, अप्रिलको आम्दानी अपडेटहरूमा ‘म्याग्निफिसेन्ट सेभेन’ को सन् २०२६ का लागि पुँजीगत खर्च बढाइएको छ । उनीहरूको कुल खर्च अहिले करिब ७२५ अर्ब डलर पुग्ने देखिएको छ जबकि पहिलेको अपेक्षा करिब ६७० अर्ब डलर मात्र थियो ।

यद्यपि, केही विश्लेषकहरू ‘हाइपरस्केलर्स’ (ठूला क्लाउड प्रदायकहरू) ले भविष्यमा पनि अहिलेकै जस्तो असाधारण पुँजीगत खर्चको आँकडा कायम राख्न सक्ने कुरामा शंका व्यक्त गर्छन् ।

इन्भेस्टमेन्ट कन्सल्टेन्सी ‘पोर्टफोलियो थिंकिङ’ का संस्थापक ड्यान केम्पले सीएनबीसीलाई भने, ‘पहिले कम्पनीहरूले यस दरमा वृद्धि गर्न र यस्तो नाफा कमाउन सक्छन् भनेर विश्वास गर्न हामीलाई धेरै गाह्रो हुन्थ्यो र अहिले उनीहरूले त्यसो गर्दैनन् होला भनेर विश्वास गर्न गाह्रो भइरहेको छ ।’

कम्पनीहरूले प्रतिस्पर्धाबिना नै निरन्तर असाधारण प्रतिफल दिइरहनेछन् भन्ने कुरा लगानीकर्ताहरूले मान्नका लागि ‘बलियो विश्वास’ आवश्यक पर्ने उनले बताए । यो पुँजी बजारमा सामान्यतया हुँदैन ।

कृत्रिम बुद्धिमत्ता एक ‘सेकुलर’ प्रवृत्ति हो र त्यसैले यो आर्थिक चक्रको उतारचढावबाट सुरक्षित छ भन्ने उत्कृष्ट आम्दानी वृद्धिको आधार हो ।

बीएनपी परिबास एसेट म्यानेजमेन्टका पोर्टफोलियो म्यानेजर सोफी ह्युन्हका अनुसार, यो कुरा सत्य हुन सक्छ । तर, चक्र भन्दा पनि भौतिक अवरोधहरूले नाफामा ठूलो समस्या निम्त्याउन सक्छन् ।

‘एआई अपनाउने गति असमान हुन सक्छ किनकि उपलब्ध टोकनहरूको कुल मात्राले अवरोध सिर्जना गर्न सक्छ,’ उनले थपिन् ।

टोकनहरू प्रशोधनका आधारभूत इकाइहरू हुन् जुन एआई मोडेलका प्रयोगकर्ताहरूले कार्यहरू सञ्चालन गर्नका लागि खरिद गर्छन् । आपूर्ति कम हुँदै गएपछि प्रविधि कम्पनीहरूले उनीहरूको प्रयोगमा कडाइ गर्न थालेका छन् ।

जे.पी. मोर्गन प्राइभेट बैंकका अनुसार, त्यतिन्जेलसम्म लगानीकर्ताहरूको पोर्टफोलियोमा प्रविधि नै प्रमुख विषय रहनेछ र यो क्षेत्र क्रमिक रूपमा सबैका लागि र सबै कुराको जवाफ बन्दैछ । यो चक्रीय र रक्षात्मक दुवै किसिमको व्यापारका साथै आम्दानी वृद्धिको मुख्य संवाहक बनेको छ ।

ग्लोबल इन्भेस्टमेन्ट रणनीतिकार कृति गुप्ताले मे १ को नोटमा लेखेकी छन्, ‘लगानीकर्ताहरू एआईका बारेमा उत्साहित भएपछि प्रविधि किने । उनीहरू मुद्रास्फीतिका बारेमा चिन्तित भए र उनीहरूले प्रविधि किने । उनीहरूले राम्रो प्रदर्शन खोजेपछि प्रविधि किने । जब उनीहरूले दिगोपनका बारेमा सोचे, उनीहरूले प्रविधि किने । जब उनीहरू वृद्धिमा लगानी गर्न चाहन्थे, उनीहरूले प्रविधि किने । जब उनीहरू पुँजीगत खर्च चक्रमा जोडिन चाहन्थे, उनीहरूले प्रविधि किने । जब उनीहरू विश्वको अवस्थाप्रति चिन्तित भए र नगदको ब्याकअप भएको कम्पनीको आवश्यकता महसुस गरे, उनीहरूले प्रविधि किने ।’