
काठमाडौं । सिटी होटलले संस्थापक समूहको सेयर बिक्रीबारे बजारमा फैलिएको समाचारको खण्डन गरेको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थापक सेयर ‘लकइन’ अवधिमै रहेको र नियमविपरीत बिक्री गरिएको भन्ने दाबी पूर्णतः गलत, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको हो ।
कम्पनीका सचिव सुन्दरबहादुर सेनीद्वारा जारी विज्ञप्तिअनुसार, सिडिएस एन्ड क्लियरिङको अद्यावधिक विवरणले संस्थापक र कर्मचारी समूहका कुल २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता सेयर अझै लकइनमा रहेको देखाएको छ । यो परिमाण कम्पनीको कुल जारी सेयरको ९०.४० प्रतिशत हो । उक्त सेयरहरू आगामी २०८३ जेठ ४ गतेसम्म लकइनमा रहने कम्पनीले जनाएको छ ।
कम्पनीले सिडिएससीको आधिकारिक तथ्याङ्कलाई उद्धृत गर्दै हालसम्म कुनै पनि संस्थापक सेयर नियमविपरीत कारोबार नभएको र लकइन सम्बन्धी व्यवस्थाको पूर्ण पालना गरिएको दाबी गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिमा साविक सेयरधनीहरूका लागि हकप्रद सेयर जारी गरेको र सो क्रममा बिक्री नभई बाँकी रहेका सेयरहरू प्रचलित निर्देशिका बमोजिम लिलाम बढाबढ मार्फत बिक्री गरिएको जनाएको छ ।
‘लिलाम प्रक्रियामा लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँभन्दा माथि बोलकबोल गरी सेयर खरिद गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘२०८२ कात्तिक १६ मा प्रकाशित सार्वजनिक सूचनामै संस्थापक तथा कर्मचारीतर्फका सेयरहरू २०८३ जेठ ४ सम्म लकइनमा रहने व्यहोरा स्पष्ट पारिएको थियो ।’
विगत केही समयदेखि कम्पनी र यसका पदाधिकारीहरूको छवि धमिल्याउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै सिटी होटलले गम्भीर आपत्ति जनाएको छ । यस्ता तथ्यहीन समाचार सम्प्रेषण गर्ने र अफवाह फैलाउने संलग्न व्यक्ति वा निकायविरुद्ध कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्ना लगानीकर्ता र सरोकारवालाहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र भ्रममा नपर्न आग्रह समेत गरेको छ ।






प्रतिक्रिया