
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा छुटेका छन् । बिमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो ।
बिमा प्राधिकरणको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सीआईबीले वैशाख १५ मा श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो ।
नेपाल बिमा प्राधिकरणले वैशाख ८ गते नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको भन्दै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।
प्राधिकरणको आकस्मिक निरीक्षणका क्रममा कम्पनी र यसका पदाधिकारीहरूको संलग्नतामा गम्भीर आर्थिक वा प्रशासनिक अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सुझाव दिइएको थियो ।
विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको पाइएपछि श्रेष्ठ पक्राउ परेका थिए ।





प्रतिक्रिया