‘खुल्ला संवाद’ गर्न शिक्षामन्त्री सस्मितलाई त्रिचन्द्रका विद्यार्थीको निम्तो

1.2k
Shares

काठमाडौं । देशको सबैभन्दा जेठो शैक्षिक संस्था त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सरकारले ल्याएको ‘प्रशासनिक सुधार’ नीतिप्रति असन्तुष्टि जनाउँदै शिक्षामन्त्रीलाई खुला मञ्चमा बहसका लागि चुनौती दिएका छन् ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सरकारले सार्वजनिक गरेको प्रशासनिक सुधारको बुँदा नं. ८६ ले विद्यार्थीको हकहित र समग्र शैक्षिक क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भन्दै सो विषयमा स्पष्टता माग गर्न शिक्षामन्त्री सस्मित पोखरेललाई ‘खुल्ला संवाद’ का लागि निमन्त्रणा गरेको हो ।

स्ववियुले बुझाएको पत्रअनुसार, सरकारले अघि सारेको उक्त बुँदाले विद्यार्थी संगठनहरूको स्वायत्तता र विश्वविद्यालय सुधारको साटो दलीय राजनीतिको पूर्वाग्रह झल्काएको आरोप लगाइएको छ । विद्यार्थीहरूले सरकारको नियत र एजेन्डाको ‘सही सार’ बुझ्न र आवश्यक परे फरक मत राख्नका लागि मन्त्रीसँग प्रत्यक्ष संवाद गर्न चाहेको बताएका छन् ।

त्रिचन्द्रका स्वतन्त्र विद्यार्थ युनियन अध्यक्ष गोविन्द कोइरालाले भने, ‘विश्वविद्यालय सुधारको महत्त्वपूर्ण आयामहरूमा प्रस्थान नगरी समग्र विश्वविद्यालय क्षयीकरणको दोष विद्यार्थी राजनीतिमा लाद्नु पूर्वाग्रही देखिन्छ ।’

यो संवादलाई केवल भाषणबाजीमा सीमित नराखी ‘सोक्राटिक डिस्कसन’ (प्रश्न–उत्तरमा आधारित दार्शनिक विधि) को शैलीमा सञ्चालन गर्ने तय गरेको कोइरालाले बताए । यसमा एकातिर मन्त्री पोखरेल रहनेछन् भने अर्कोतिर विद्यार्थी वर्ग रहनेछन् ।
खुल्ला संवाद (सोक्राटिक डिस्कसन) नाम दिइएको यस कार्यक्रम बैशाख २५ गते बिहीबार बिहान १०:०० बजे त्रिचन्द्र बहुमुखी क्याम्पस प्राङ्गण, घण्टाघरमा सुरू हुनेछ ।

कोइरालाका अनुसार यो संवादले सरकारलाई आफ्ना नीतिहरूबारे जवाफदेही बनाउने र विद्यार्थी एवं बौद्धिक वर्गबाट अनुमोदन नभएका नीतिहरू सच्याउन दबाब दिने अपेक्षा गरिएको छ । ऐतिहासिक त्रि–चन्द्र क्याम्पसको प्राङ्गणबाट सुरु हुने यो बहसले शैक्षिक क्षेत्रमा नयाँ तरंग ल्याउने उनको विश्वास छ ।