पश्चिम बंगालमा भाजपाको विजय, आर्थिक सुधारका एजेन्डा लागू गर्न सहज

49
Shares

एजेन्सी । पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को पछिल्लो चुनावी लहरले केन्द्र र राज्यबीच नीतिगत तालमेल बढाउन सक्ने अर्थशास्त्रीहरूले बताएका छन् ।

पश्चिम एसियाको युद्धको असर र औसतभन्दा कम मनसुनको पूर्वानुमानसँग अर्थतन्त्र जुधिरहेको बेला संघीय सरकारको सुधारका प्रयासहरूलाई पनि यसल तालमेलले मद्दत पुग्न सक्ने उनीहरूको भनाइ छ ।

केन्द्रमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको प्रमुख घटकले पश्चिम बंगालमा आफ्नो पहिलो जीत दर्ता गरेको छ । उसले असम र पुडुचेरीमा (गठबन्धन साझेदारहरूसँग) आफ्नो पकड कायम राखेको छ र केरलामा रेकर्ड तीन सीट जितेको छ । सन् २०२१ मा चार सीट जितेको तमिलनाडुमा भने यसपटक यसले एउटा मात्र सीट जितेको छ ।

तर, निरुद्योगीकरण र बारम्बारको केन्द्र–राज्य विवादले ग्रस्त पश्चिम बंगालमा भाजपाको जीत भारतको वृद्धिको सम्भावनाका लागि सबैभन्दा महत्त्वपूर्ण रहने अर्थशास्त्रीहरूले बताए । तर, राजनीतिक परिवर्तनको लहरले आर्थिक सुधारहरूको बाटो खोल्छ भने मात्र यो सम्भव हुने उनीहरूको भनाइ छ ।

केन्द्र र राज्यबीचको सम्बन्ध टकरावबाट सौहार्द्रतातर्फ मोडिनुले धेरै वृद्धि–सहयोगी र कल्याणकारी योजनाहरूको कार्यान्वयनलाई बलियो बनाउन सक्ने र लामो समयदेखि टाढा रहेका निजी लगानीकर्ताहरूलाई बंगालमा फिर्ता ल्याउन सक्ने उनीहरूले बताए ।

राज्यको लामो समयदेखिको कमजोर आर्थिक प्रदर्शनलाई हेर्दा यससँग छिटो विस्तार हुने र राष्ट्रिय वृद्धि दरमा सहयोग पुर्याउने ठूलो अवसर रहेको उनीहरूले बताए । राम्रो तालमेलले राज्य स्तरमा कर र अन्य सुधारहरूलाई पनि व्यवस्थित बनाउन सक्छ ।

नोमुराका प्रबन्ध निर्देशक र भारत तथा एसिया (जापान बाहेक) का मुख्य अर्थशास्त्री सोनल वर्माले भने, ‘यी चुनावहरूले पूर्वी भारतको आर्थिक दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन् । अहिलेसम्म दक्षिणी राज्यहरू र केही पश्चिमी राज्यहरू (गुजरात, महाराष्ट्र) आर्थिक शक्तिकेन्द्रका रूपमा रहेका छन् । अब हामीले पूर्वी भारत बिस्तारै भारतको समग्र वृद्धिको महत्त्वपूर्ण चालक बनेको देख्न सक्छौं ।’

डीबीएस बैंककी वरिष्ठ अर्थशास्त्री र कार्यकारी निर्देशक राधिका रावले भाजपाको यस जीतले उत्तरी र पश्चिमी भागहरूमा रहेका यसका परम्परागत किल्लाहरू भन्दा बाहिर यसको पहुँच विस्तार भएको संकेत गरेको बताइन् ।

पूर्वाधार, रक्षा, औद्योगिक विद्युतीकरण, बन्दरगाह र उत्पादन लगायतका क्षेत्रहरूले यस परिवर्तनबाट फाइदा लिन सक्ने उनले बताइन् ।

‘विजयी दलहरूले कल्याणकारी कार्यक्रमका साथै वृद्धिमुखी नीतिहरू अपनाउने अपेक्षा गरिनेछ जबकि बजारले सुधारको ढाँचामा ठोस परिवर्तन र ठूलो वृद्धि रणनीतिको स्पष्टताको पर्खाइमा रहनेछ,’ रावले भनिन् ।

मद्रास स्कूल अफ इकोनोमिक्सका निर्देशक एनआर भानुमूर्तिले पूर्वी भारतले लामो समयदेखि आर्थिक वृद्धि र विकासका चुनौतीहरू सामना गर्दै आएको भनाइ राखे । ‘बंगालको नतिजाले राम्रो केन्द्र–राज्य सहयोगलाई बढावा दिन सक्छ । यसले व्यापार गर्ने सहजता बढाउन र पश्चिम बंगालको औद्योगिक परिदृश्यलाई पुनर्जीवित गर्न मद्दत गर्नेछ जसले राज्यको वृद्धिलाई सहयोग पुर्याउनेछ,’ उनले भने ।

केन्द्रद्वारा सुरु गरिएका धेरै योजनाहरू विशेषगरी किसानहरूका लागि (पीएम–किसान), ग्रामीण रोजगारी, आवास र स्वास्थ्य सेवा (आयुष्मान भारत) पश्चिम बंगालमा छोटो समयका लागि वा त्रुटिपूर्ण रूपमा कार्यान्वयन भएको आरोप लागेको थियो किनकि राज्यले केही परिस्थितिहरूमा आफ्नै कार्यक्रमहरू सुरु गरेको थियो ।

भाजपाको जीतले यीमध्ये केही योजनाहरूको राम्रो कार्यान्वयन गराउन सक्छ जसबाट मुख्य रूपमा गरिबहरू लाभान्वित हुनेछन् ।

मध्यम अवधिमा ध्यान पूर्वाधार र औद्योगिक विकासमा केन्द्रित भयो भने र पश्चिम बंगालले आफ्नो लगानी वातावरणका चुनौतीहरूलाई सम्बोधन गर्यो भने ठूलो मात्रामा निजी लगानी सुरु हुन सक्ने नोमुराकी वर्माले भनिन् ।

एउटै राजनीतिक दलले केन्द्र र राज्य दुवैमा शासन गर्दा कार्यान्वयनमा सहजता ल्याउन सक्छ । ‘तर अन्ततः सुधारको गहिराइ र सफलता राज्य सरकारहरू कत्तिको गतिशील र अनुकूलनशील छन् भन्ने कुरामा भर पर्छ,’ चण्डीगढ स्थित इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड कम्युनिकेसनका अर्थशास्त्रका प्राध्यापक सुनिल के सिन्हाले भने ।