सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले पीईभीसीमा लगानी गर्न पाउने

7.3k
Shares

काठमाडौं । सरकारले नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष कर्मचारी र सञ्चय कोषलाई म्युचुअल लगायत धितोपत्रको औजारमा लगानी गर्न खुला गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐन संशोधन गर्न अध्यादेश मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नागरिक लगानी कोष ऐन संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

सरकारले तीन वटै निकायलाई म्युचुअल फन्ड, प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल फन्ड लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।

नागरिक लगानी कोष ऐनको दफा ३२ को उपदफा २ (ग) मा वाणिज्य बैंक, वित्तीय संथा र बिमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्वीटी फन्ड वा भेञ्चर क्यापिटल फन्डका इकाइमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।

यस्तै कर्मचारी सञ्चय कोष ऐनमा संशोधन गर्दै हाल कोषले म्यचुअल फन्ड योजना सञ्चालन गर्न सक्ने मात्रै व्यवस्था रहेकामा अब धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्वीटी फन्ड र भेञ्चर क्यापिटल फन्डका इकाइमा लगानी गर्नसक्ने व्यवस्था गरेको हो ।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनमा संशोधन गर्दै हाल म्युचुअल फन्डमा मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकामा त्यसलाई संशोधन गर्दै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्वीटी फन्ड र भेञ्चर क्यापिटल फन्डका इकाइमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि कर्मचारी सञ्चय कोष ऐनले भने पीईभीसीमा लगानी गर्ने बाटो खोलेको थिएन । ऐनको दफा १९ ले डिबेन्चर, म्युचुअल फन्डसमेतमा लगानी गर्न पाउने व्यवस्था गरेपनि पीईभीसीबारे कुनै व्यवस्था थिएन । त्यस्तै नागरिक लगानी कोषको ऐनले समेत पीइभीसीमा लगनी गर्ने व्यवस्था गरेको थिए भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनमा समेत पीइभीसीमा लगानी गर्न सक्ने व्यवस्था भिएन ।

नेपाल धितोपत्र बोर्डल पीइभीसीको लागि कोष सञ्चालन इजाजत दिए पनि उक्त कोषमा ठूलो फन्ड भएका बिमा कम्पनीका साथै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले लगानी गर्ने व्यवस्था नहुँदा कोषलाई फन्ड जुटाउन समस्या हुँदै आएको थियो । अब सरकारले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको ऐनमा नै पीइभीसीमा लगानी गर्ने बाटो खुला गरेसँगै धितोपत्र बोर्डबाट इजाजत पाएको पीइभीसी कोष सञ्चालकहरुलाई फन्ड जुटाउन सहज हुने देखिएको छ ।