
एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपमा सहभागी हुने टोलीहरूका लागि दिइने भुक्तानीमा वृद्धि गरेको छ । यसले गर्दा कुल वितरण ८७१ मिलियन डलर पुगेको छ र यो अहिलेसम्मकै सबैभन्दा बढी धनराशिको संस्करण बनेको छ ।
तर, गत बुधबार क्यानडाको भ्यानकुभरमा आयोजित ३६औं फिफा काउन्सिल बैठकमा घोषणा गरिएको यो बढेको वित्तीय वितरण यस्तो समयमा आएको छ जब फिफाले टिकटको मूल्य र आफ्ना व्यावसायिक साझेदारीका कारण आलोचनाको सामना गरिरहेको छ ।
नयाँ वित्तीय वितरण ढाँचा अन्तर्गत जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ विश्वकपका सहभागी संघहरू प्रत्येकले थप २० लाख डलर प्राप्त गर्नेछन्, जसमाः
तयारी खर्चः २.५ मिलियन डलर (२०२२ को विश्वकपमा १.५ मिलियन डलर थियो), र
छनोट रकमः १० मिलियन डलर (२०२२ मा ९ मिलियन डलर थियो)
यसले प्रत्येक टोलीका लागि छनोट भएबापतको न्यूनतम भुक्तानी कम्तीमा १२.५ मिलियन डलर पुर्याउँछ जसमा प्रतियोगिताको प्रदर्शन अनुसार थप पुरस्कार रकम जोडिनेछ ।
यी भुक्तानीहरू चार–चार वर्षमा हुने यस खेलकुद प्रतियोगिताको छनोट र तयारीसँग सम्बन्धित खर्चहरू, जस्तै यात्रा, प्रशिक्षण सुविधाहरू र कर्मचारीहरूको पारिश्रमिक बेहोर्नका लागि हुन् । खेल परामर्शदाता फोर्ट कन्सल्टिङका संस्थापक रिकार्डो फोर्टका अनुसार, यो विशेषगरी फुटबलका परम्परागत शक्ति राष्ट्रहरू बाहेकका टोलीहरूका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
‘राष्ट्रिय फुटबल संघहरूलाई दिइने यो थप योगदानले प्रतियोगिताको व्यावसायिक सफलतालाई विश्वव्यापी फुटबल प्रणालीमा पुनः वितरण गर्ने फिफाको भूमिकालाई मजबुत बनाउँछ,’ फोर्टले भने ।
२०२६ को विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ जसमा टोली संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ । केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान जस्ता चार राष्ट्रिय टोलीहरूले यस वर्षको संस्करणमा पहिलोपटक प्रवेश गर्दैछन् ।
फिफाले सहभागी प्रतिनिधिमण्डलको खर्च र टोलीको टिकट बाँडफाँटका लागि १६ मिलियन डलरभन्दा बढी रकम छुट्याइएको बताएको छ जसले सहभागी टोलीका लागि छुट्याइएको कुल कोष ८७१ मिलियन डलर पुगेको छ ।
फुटबलको सर्वोच्च निकायले यसअघि डिसेम्बरमा प्रतियोगिताको पुरस्कार राशिको कोषमा ५० प्रतिशतभन्दा बढी वृद्धि गर्ने घोषणा गरेको थियो ।
डिसेम्बरमा फिफा काउन्सिलले सन् २०२६ को संस्करणका लागि ७२७ मिलियन डलरको कीर्तिमानी पुरस्कार कोष स्वीकृत गरेको थियो जुन २०२२ को कतार विश्वकपमा टोलीहरूलाई दिइएको ४४० मिलियन डलरको तुलनामा ६५ प्रतिशतले बढी हो ।
यस वर्षको प्रतियोगितामा भुक्तानी रकम बढी भए पनि फ्यानहरूले टिकटको मूल्य र फिफाको आम्दानीको स्रोतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
फिफाको नयाँ डायनामिक (परिवर्तनशील) मूल्य प्रणाली अन्तर्गत टिकटको मूल्य माग अनुसार घटबढ हुन्छ । केही फ्यानहरूले टिकटको मूल्य सन् २०२२ को प्रतियोगिताको तुलनामा १० गुणाभन्दा बढीले बढेको बताएका छन् ।
सीएनबीसीको समीक्षाले फिलाडेल्फियामा हुने कुराकाओ र कोटे डि आइभोर बीचको समूह चरणको खेलको लागि ‘क्याटेगोरी २’ को टिकटको मूल्य ३८० डलरदेखि लस एन्जलस स्टेडियममा हुने अमेरिका र पाराग्वे बीचको खेलको लागि ‘क्याटेगोरी १’ को टिकटको मूल्य ४१ सय ५ डलरसम्म रहेको देखाएको छ ।
फिफाको आधिकारिक टिकट पुनः बिक्री प्लेटफर्ममा केही मूल्यहरू चरम स्तरमा पुगेका छन् । फाइनलको एउटा रिसेल टिकट ११.५ मिलियन डलरमा सूचीबद्ध गरिएको छ । फिफाले रिसेल टिकटको मूल्य नियन्त्रण नगरे पनि, प्रत्येक लेनदेनको मूल्यमा १५ प्रतिशत शुल्क भने लिने गर्छ ।
फिफाका प्रवक्ताले सीएनबीसीलाई संस्था ‘विद्यमान र सम्भावित फ्यानहरूका लागि खेलमा निष्पक्ष पहुँच सुनिश्चित गर्न केन्द्रित रहेको र ६० डलरबाट सुरु हुने समूह चरणका टिकटहरू उपलब्ध गराएको’ बताए ।
यद्यपि, यी कम लागतका टिकटहरू विशेष गरी छनोट भएका टोलीका समर्थकहरूका लागि छुट्याइएको थियो जसको चयन र वितरण प्रक्रिया सम्बन्धित सहभागी सदस्य संघहरूद्वारा व्यक्तिगत रूपमा व्यवस्थित गरिएको थियो ।
परिवर्तनशील मूल्य प्रणाली विभिन्न खेल र मनोरन्जन क्षेत्रहरूमा रहेको उद्योगको प्रचलनसँग मेल खान्छ र यसले इभेन्टहरूको लागि उचित बजार मूल्य सुनिश्चित गर्छ भनी प्रवक्ताले थपे ।
टिकटको मूल्यप्रति आक्रोशका बावजुद यस वर्षको विश्वकपमा टिकटको माग अत्यधिक रहेको देखिन्छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसअघि सीएनबीसीलाई बताए अनुसार, संस्थाले प्रतियोगिताका १०४ खेलहरूमा उपलब्ध ७० लाख टिकटका लागि करिब ५० करोड ८० लाख अनुरोधहरू प्राप्त गरेको छ ।
यो सत्य हो भने यस वर्षको विश्वकपमा प्रत्यक्ष उपस्थित हुने दर्शकहरूको संख्याले सन् २०२२ को कतार विश्वकपको उपस्थितिलाई धेरै पछाडि छाड्नेछ जहाँ ६४ वटा खेलहरूमा ३४ लाखभन्दा बढी दर्शकहरू सहभागी भएका थिए ।
‘यस स्तरका ठूला इभेन्टहरूका लागि टिकटको मूल्य निर्धारण सधैं संवेदनशील विषय हुन्छ,’ फोर्टले भने, ‘त्यहाँ सधैं फ्यानहरूको एउटा समूह हुन्छ जसलाई लाग्छ कि टिकटको मूल्य उनीहरूको पहुँचभन्दा बाहिर छ, विशेष गरी प्रिमियम खेलहरूका लागि ।’
तैपनि, उच्च मागलाई हेर्दा फिफाको मूल्य निर्धारण रणनीति अमेरिकी बजारमा सफल भएको उनले बताए ।
फ्यानहरूले फिफाका अन्य विवादहरूमा खासै ध्यान नदिएको देखिन्छ जसमा साउदी अरबको अरामकोसँगको प्रायोजन सम्झौता र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई फिफा शान्ति पुरस्कार प्रदान गरिएको विषयहरू समावेश छन् ।
‘ऐतिहासिक रूपमा हामीले के देखेका छौं भने प्रतियोगिताप्रतिको फ्यानहरूको संलग्नता अविश्वसनीय रूपमा लचिलो रहन्छ । एकपटक प्रतिस्पर्धा सुरु भएपछि ध्यान तुरुन्तै फुटबलतर्फ मोडिनेछ,’ फोर्टले भने ।
प्रतियोगितासँगै फिफाको आर्थिक अवस्था पनि मजबुत भएको छ । सन् २०२५ मा, संस्थाको कुल आम्दानी २.६६ अर्ब डलर पुगेको थियो जसमा टेलिभिजन प्रसारण अधिकारको ठूलो हिस्सा थियो । त्यसपछि मार्केटिङ अधिकारको स्थान थियो ।
यसको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले बढेर ९.४८ अर्ब डलर पुगेको छ । यद्यपि, सन् २०२५ मा कुल दायित्व दोब्बरभन्दा बढी भएपछि कुल रिजर्भ वार्षिक ८ प्रतिशतले घटेर करिब २.७ अर्ब डलरमा सीमित भएको छ ।
आधिकारिक रूपमा नाफा नकमाउने संस्था भनिए पनि संघको २०२७–२०३० को बजेट अनुसार फिफाको लगानी यसका २११ सदस्य राष्ट्रहरूमा पूर्वाधार विकास र विश्वकप तथा क्लब विश्वकप जस्ता प्रतियोगिताहरूको आयोजनामा खर्च गरिन्छ ।






प्रतिक्रिया