
नेपालको आर्थिक परिदृश्यमा जब–जब निराशाका बादल मडारिन्छन्, तब–तब आशाको दियो बाल्ने र अर्थतन्त्रको डुङ्गालाई खियाएर अगाडि बढाउने जिम्मेवारी निजी क्षेत्रको काँधमा आइपुग्छ ।
विगतका दशकहरूमा देशले भोगेका हरेक राजनीतिक उथलपुथल, नीतिगत अस्थिरता, र अनगिन्ती प्रक्रियागत झन्झटहरूको बाबजुद नेपालको उद्योग, वाणिज्य, र व्यवसाय क्षेत्रले जसरी अर्थतन्त्रलाई यहाँसम्म धानेर ल्याएको छ, त्यो आफैंमा एउटा असाधारण योगदान हो ।
अनेकौं विसंगतिहरूको सामना गर्दै, कहिलेकाहीं गैरकानुनी नभए पनि कानुनको पूर्ण दायराभित्र नपर्ने जटिलताहरूलाई झेल्दै र देश, काल, परिस्थितिको हरेक परीक्षामा खरो उत्रिँदै यहाँसम्म आइपुग्नुभएका उद्योगी व्यवसायी धन्यवादका पात्र हुनुहुन्छ ।
आजको यो जमघट केवल औपचारिक धन्यवाद ज्ञापनका लागि मात्र होइन, बरु एउटा नयाँ अध्यायको सुरुवात, एउटा नयाँ सहकार्यको वाचा, र परम्परागत राजनीतिको साँघुरो घेराबाट माथि उठेर ‘अर्थ–राजनीति’को वृहत् र स्पष्ट मार्गचित्र कोर्ने साझा प्रतिबद्धताको उद्घोष पनि हो ।
लामो समयदेखि हाम्रो राजनीति एउटा यस्तो दुष्चक्रमा फस्यो, जहाँ अर्थतन्त्र र जनजीविकाका सवालहरू ओझेलमा परे । राजनीति केवल सत्ता र शक्तिको खेलमा सीमित भयो, जसले गर्दा देशको आर्थिक विकासको गति अपेक्षित रूपमा अगाडि बढ्न सकेन । अर्थतन्त्रलाई टेवा दिन नसक्ने, उद्योगी–व्यवसायीको ‘बटमलाइन’ बढाउन नसक्ने, रोजगारी सिर्जना गर्न नसक्ने, र आम नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने खोक्रो राजनीतिको अब कुनै अर्थ रहँदैन ।
तपाईंहरूले आफ्नो व्यवसाय चलाउन कुनै नेता वा पार्टीलाई चन्दा दिनु पर्दैन, कुनै अफिसमा धाउनु पर्दैन, वा कसैको व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्दैन । तपाईंहरूको संरक्षक व्यक्ति होइन, देशको नीति हुनुपर्छ, र हामी त्यही नीति निर्माण गर्न प्रतिबद्ध छौं
यही तितो यथार्थको गर्भबाट एउटा नयाँ राजनीतिक शक्तिको उदय भएको हो, जसको मूल मन्त्र नै राजनीतिलाई अर्थतन्त्रसँग जोड्नु हो । यो केवल एउटा पार्टीको उदय मात्र होइन, बरु एउटा सोचको ‘डिपार्चर’ हो—त्यो पुरानो सोचबाट जहाँ राजनीतिज्ञहरूले अर्थतन्त्र बुझ्दैनथे र अर्थशास्त्रीहरूले राजनीतिमा चासो राख्दैनथे । हामीले ‘कम राजनीतिज्ञ भएको राजनीतिक पार्टी’को परिकल्पना गर्यौं, जहाँ विज्ञता, अनुभव र देशप्रतिको समर्पणले प्राथमिकता पाओस् ।
हाम्रो वाचापत्र केवल चुनावी नाराहरूको संगालो होइन, यो सरकार र निजी क्षेत्रबीचको एउटा नयाँ सामाजिक सम्झौताको प्रारम्भिक मस्यौदा हो, जसलाई हामी सबै मिलेर कार्यान्वयन गर्नेछौं । विगतमा, राजनीतिक अस्थिरता र गलत प्रवृत्तिका कारण तपाईंहरू नेता र पार्टीको ढोका ढकढक्याउन, उनीहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न, र राजनीतिक संरक्षण खोज्न बाध्य हुनुभयो होला । त्यो तपाईंहरूको रहर होइन, बाध्यता थियो भन्ने हामी राम्ररी बुझ्छौं । तर अब त्यो युगको अन्त्य हुनुपर्छ ।
हाम्रो स्पष्ट सन्देश छ–तपाईंहरूले आफ्नो व्यवसाय चलाउन कुनै नेता वा पार्टीलाई चन्दा दिनु पर्दैन, कुनै अफिसमा धाउनु पर्दैन, वा कसैको व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्दैन । तपाईंहरूको संरक्षक व्यक्ति होइन, देशको नीति हुनुपर्छ, र हामी त्यही नीति निर्माण गर्न प्रतिबद्ध छौं । तपाईंहरू हाम्रो पार्टीको सदस्यता लिन वा हाम्रो कार्यालयमा एक पाइलो टेक्नै पर्दैन; बरु, तपाईंहरू आफ्नो फ्याक्ट्रीमा बस्नुहोस्, आफ्नो व्यवसायको हेरचाह गर्नुहोस्, र हामी तपाईंहरूलाई चाहिने नीतिगत सुरक्षाको हेरचाह गर्नेछौं ।
यो आर्थिक शुद्धीकरणको प्रक्रियामा यदि कहिलेकाहीँ अनुसन्धानका लागि तपाईंहरूको ढोका ढकढक्याउन पुगियो भने, त्यसलाई प्रतिष्ठाको विषय नबनाई प्रणाली सुधारको एक हिस्साको रूपमा सहयोग गरिदिनुहुन हामी आग्रह गर्दछौं
यो एउटा आधारभूत परिवर्तन हो, जहाँ राजनीतिक पहुँचको आधारमा होइन, योग्यता र प्रतिस्पर्धाको आधारमा व्यवसाय फस्टाउने वातावरण बन्छ । यो नयाँ यात्राको सुरुवातसँगै व्यवसायी वृत्तमा एक प्रकारको संशय र डर पनि व्याप्त छ, विशेषगरी सुशासनका नाममा हुन सक्ने धरपकडलाई लिएर । यो डर अस्वाभाविक होइन । तर, यहाँ के कुरामा स्पष्ट हुनु जरुरी छ भने, हामी एउटा संक्रमणकालबाट गुज्रिरहेका छौं, जहाँ वर्षौंदेखि जकडिएर बसेका कुशासनका प्रवृत्तिहरूलाई जरैदेखि उखेल्नु अपरिहार्य छ ।
हामीले खेल सुधारको कुरा गर्दा त्यसको अर्थ समग्र व्यवसायलाई नै अपराधीकरण गर्ने होइन, बरु त्यो यसभित्रका गलत नियम र खेलाडीहरूलाई बाहिर निकाल्ने हो, जसले गर्दा स्वच्छ प्रतिस्पर्धाको वातावरण बनोस् । जब संस्थागत भ्रष्टाचार, सर्वसाधारणको लगानी डुबाउने गरी ‘बुक मिलाएर’ ल्याइने आईपीओ, वा निश्चित समूहले प्रणालीलाई नै ‘क्याप्चर’ गर्नेजस्ता विकृतिमाथि प्रहार हुन्छ, त्यसले केही तरंग ल्याउन सक्छ ।
तर, हाम्रो उद्देश्य कुनै व्यवसायीलाई तर्साउने वा हतोत्साहित गर्ने होइन, बरु समग्र व्यवसायिक वातावरणलाई स्वच्छ र पारदर्शी बनाउने हो । आर्थिक अपराधलाई आर्थिक दृष्टिकोणले नै हेरिनुपर्छ, त्यसको समाधान जरिवाना र क्षतिपूर्ति हुन सक्छ । तर, जब प्रणालीलाई नै ध्वस्त पार्ने संगठित प्रयास हुन्छ, त्यहाँ राज्य चुप लागेर बस्न सक्दैन । यो आर्थिक शुद्धीकरणको प्रक्रियामा यदि कहिलेकाहीँ अनुसन्धानका लागि तपाईंहरूको ढोका ढकढक्याउन पुगियो भने, त्यसलाई प्रतिष्ठाको विषय नबनाई प्रणाली सुधारको एक हिस्साको रूपमा सहयोग गरिदिनुहुन हामी आग्रह गर्दछौं ।
यो ऐतिहासिक ‘डिपार्चर’को क्षणमा हामी सबैबाट केही न केही योगदानको अपेक्षा गरिएको छ । यो योगदान केवल सडकमा रगत बगाउनेहरूको मात्र होइन; यो हरेक नागरिक, हरेक पेशाकर्मी, र विशेषगरी तपाईंहरूजस्ता अर्थतन्त्रका संवाहकहरूको पनि हो । यो संक्रमणकालमा तपाईंहरूको ‘बटमलाइन’मा थोरै संकुचन आउन सक्छ, केही असहजता महसुस हुन सक्छ । तर, यसलाई एउटा पुस्ताले भविष्यको लागि गरेको लगानीको रूपमा बुझ्नुपर्छ । कुनै पनि देश एउटा पुस्ताको त्याग र योगदानविना बनेको छैन । हामीले अर्को पुस्तालाई कुरेर बस्ने छुट छैन; त्यो जिम्मेवारी बोक्ने पुस्ता हामी नै हौं । यो पुस्ताले गरेको सानो त्यागले आउने पुस्तालाई एउटा बलियो र समृद्ध राष्ट्र हस्तान्तरण गर्नेछ ।
हाम्रो लक्ष्य स्पष्ट छः सम्मानजनक मध्यम आय भएको मुलुक बन्ने । यो लक्ष्यको आधार तपाईंहरू नै हुनुहुन्छ । त्यसैले, तपाईंहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउनु हाम्रो पहिलो प्राथमिकता हो । पोलिसी रिफर्म नै यसको प्रस्थानबिन्दु हो । हामी प्रक्रियागत झन्झटहरू हटाएर ‘वान–स्टप’ प्रणाली लागू गर्ने, असान्दर्भिक र व्यवसायमारा कानुनहरूलाई एकमुष्ट खारेज गर्न ‘सनसेट ल’ जस्ता अवधारणाहरू ल्याउने, र लगानीको वातावरण बनाउने दिशामा दृढ छौं ।
सूचना प्रविधिजस्ता सम्भावनायुक्त क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रूपमा विकास गर्ने, स्वदेशी स्टार्टअपलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘पेमेन्ट गेटवे’को अवरोध हटाउने, र कर प्रणालीलाई सरल र अनुमानयोग्य बनाउने दिशामा ठोस कामहरू हुनेछन् । टीडीएस र एमआरपी जस्ता तत्कालका समस्याहरूलाई हामीले सम्बोधन गर्न थालिसकेका छौं र आउने बजेटले यस्ता धेरै विषयलाई दीर्घकालीन रूपमा समाधान गर्नेछ ।
पूर्वाधार विकासविना आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन । वर्षौंदेखि एउटा सानो सडकखण्ड बन्न नसक्ने अवस्थाले हामी साँच्चै नै ‘इन्फ्रास्ट्रक्चर इमर्जेन्सी’को अवस्थामा छौं भन्ने देखाउँछ । अब आयोजनाहरू दशकौंसम्म अल्झिने होइन, ‘थ्री–सिफ्ट’मा काम गरेर समयमै सम्पन्न गर्ने संस्कृति विकास गर्नुपर्छ । ऊर्जा क्षेत्रमा वर्षौंदेखि ‘होल्ड’ गरिएका लाइसेन्सहरूको समीक्षा गरी वास्तविक लगानीकर्तालाई अवसर दिने, र सिमेन्टजस्ता आत्मनिर्भर भई निर्यातको चरणमा पुगेका उद्योगहरूलाई संरक्षण र प्रोत्साहन दिने नीति लिइनेछ ।
हाम्रो विदेश नीति पनि अब अर्थतन्त्र केन्द्रित हुनेछ । हामी दुई विशाल आर्थिक शक्तिराष्ट्रको बीचमा छौं, तर हामीले त्यसको लाभ लिन सकेका छैनौं । हाम्रो ‘डेभलपमेन्ट डिप्लोमेसी’को अर्थ नै हाम्रा कूटनीतिक सम्बन्धहरूलाई आर्थिक लाभमा रूपान्तरण गर्नु हो । विदेशी साझेदारहरूसँगको भेटमा अब हामी अंकमा कुरा गर्नेछौँ—कति लगानी आयो, कति रोजगारी सिर्जना भयो, र हाम्रो व्यापार घाटा कतिले घट्यो भन्नेमा । सम्बन्धको उचाइ अब आर्थिक सूचकहरूले नाप्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट सन्देश दिन चाहन्छौंः ‘नेपाल व्यवसायका लागि खुला छ र सुरक्षित पनि छ ।’ तपाईंको लगानी र तपाईं दुवैको सुरक्षाको जिम्मा राज्यले लिन्छ ।
यद्यपि, यो यात्रा सोचेजति सहज छैन । हामीले बुझ्नुपर्ने एउटा गहिरो यथार्थ छ—‘सरकार’ र ‘सत्ता’ बीचको फरक । हामीले ‘सरकार’ पाएका छौं, तर वर्षौंदेखि जकडिएर बसेको पुरानो मानसिकता, नोकरशाहीतन्त्र, र निहित स्वार्थको जालो, अर्थात् ‘सत्ता’, लाई पूर्ण रूपमा परिवर्तन गर्न समय लाग्छ । यो ‘सत्ता’ले परिवर्तनलाई रोक्न अनेक प्रयास गर्नेछ । त्यसैले, कहिलेकाहीँ प्रगति सुस्त देखिए पनि हामी सही दिशामा अगाडि बढिरहेका छौँ भन्नेमा विश्वस्त हुनुहोस् ।
अन्त्यमा, म फेरि पनि दोहोर्याउन चाहन्छु, यो डर र संशयको समय होइन, यो आशा र उच्च मनोबलको समय हो । अब सरकार र पार्टीबीच शक्ति संघर्षको पुरानो रोगबाट हामी मुक्त छौं । हाम्रो ध्यान केवल एउटा छ- देशको समृद्धि । त्यसैले, तपाईंहरूको घरको अर्को पुस्तालाई तपाईंले निर्धक्कसँग भन्न सक्नुहुन्छ, ‘अब व्यवसाय गर्न नेता चिन्नु पर्दैन, नीति बुझे पुग्छ ।’ तपाईंहरूको सुरक्षाको लागि कुनै व्यक्ति वा पार्टी होइन, देशको नीति उभिनेछ, र त्यो नीति हामी सबै मिलेर बनाउनेछौं ।
सुकुम्बासीदेखि उद्योगपतिसम्म, हरेक नागरिकलाई राज्यले संरक्षण गर्छ र कसैलाई पनि घरबारविहीन बनाइँदैन भन्ने हाम्रो प्रतिबद्धता छ । यो संक्रमणकालमा देखिने केही व्यवस्थापकीय कमजोरीहरूलाई बृहत्तर लक्ष्य प्राप्तिको लागि गरिएको एउटा सानो योगदानको रूपमा बुझिदिनुहोला ।
हामी तपाईंहरूको आवश्यकता बुझ्छौं, अब तपाईंहरूले हामीलाई खोज्दै आउनु पर्दैन, हामी तपाईंहरूकहाँ आउनेछौं, किनकि तपाईंहरू यो देशका अमूल्य सम्पत्ति हुनुहुन्छ । उच्च मनोबलका साथ काम गर्नुहोस्; त्रासको युग सकिएको छ, अब नीतिमा आधारित समृद्धिको युग सुरु भएको छ । हामी सबै मिलेर यो यात्रालाई सफल बनाऔँ ।
(उद्योगी व्यवसायीहरूसँगको छलफलमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले व्यक्त गरेको धारणा ।)








प्रतिक्रिया