गणपतिले एक वर्षमा बेच्यो १ अर्बको चामल, सायरा, साहशी, हिमगंगा ब्रान्डमा बिक्री

931
Shares

काठमाडौं । गणपति एग्रो प्रोडक्ट प्रोसेसिङ इन्डष्ट्रिजले एकै वर्ष १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ८७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ८४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा १९ प्रतिशतले बढेको छ । गत आव कम्पनीको नाफा मार्जिन ६.४० प्रतिशत छ । सन् २०२४ मा यस्तो मार्जिन ७.३८ प्रतिशत थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले सर्ट ग्रेन राइस र लङ ग्रेन प्रशोधन गरी सायरा, गणपति भोग, साहासी र हिम गंगा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले २० केजीदेखि ३० केजीको प्याकेजिङमा चामलको कारोबार गर्दै आएको हो ।

कम्पनीले धान आन्तरिक बजारसँगै भारतबाट आयात गरी चामल उत्पादन गर्दै आएको छ । प्रतिघण्टा ८ मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको पूर्ण स्वामित्व अर्जुनकुमार साहमा छ ।