सवा १ अर्बमा धादिङमा बनिरहेको छ चारतारे ‘द निलाय होटल’, पहिलो चरणको काम सकिँदै

1k
Shares

काठमाडौं । धादिङको थाक्रेमा बनिरहेको चारतारे होटल ‘द निलाय होटल’को पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले थाक्रेमा ५२ वटा कोठाको सुविधासहित निर्माण गरिरहेको होटलको पहिलो चरणको कार्य सम्पन्न हुन लागेको हो ।

कम्पनीले होटल निर्माण कार्यलाई दुई चरणमा अगाडि बढाएको छ । जसमध्ये पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने दोस्रो चरणको निर्माण सुरु गर्ने तयारी छ ।

कम्पनीले पहिलो चरणमा ३८ वटा कोठा निर्माण गरेको छ । जसमा ४ वटा सुइट रुम, ४ वटा एक्जिक्युटिभ रुम, २६ वटा डिलक्स रुम र ५ वटा स्ट्यान्डर्ड रुम समावेश छन् । दोस्रो चरणमा कम्पनीले १४ वटा भिल्ला बनाउनेछ ।

कम्पनीले होटल निर्माणका लागि कुल १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यसमा लगानीको संरचना ४३:५७ प्रतिशत रहनेछ ।

कम्पनीले ४३ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गर्नेछ भने बाँकी ५७ प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाउने जनाएको छ ।

हालसम्म कर्जाको व्यवस्थापन भइसकेको छ ।

होटलमा आधुनिक सुविधाहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार होटलमा फुड एन्ड बेभरेज सेवा, स्वीमिङ पुल, कन्फरेन्स र ब्याङ्क्वेट हल, हेल्थ क्लब तथा अन्य सुविधाहरू रहनेछन् ।

सन् २०२१ मा दर्ता भएको यो कम्पनी गत महिना मात्रै पब्लिक कम्पनीमा परिणत भएको हो ।

कम्पनीका मुख्य लगानीकर्ता जनपाल थापा हुन् । उनीसँग विगत तीन दशकदेखि हस्पिटालिटी व्यवस्थापन, रिसोर्ट सञ्चालन र एग्रो टुरिजम विकासको अनुभव छ । उनी होटलका अध्यक्ष समेत हुन् ।