
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजालले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।
नयाँ सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनीहरूले कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।
रास्वपा नेतृत्वको सरकारलाई काम गर्न सहज होस् र विश्वविद्यालयमा राजनीतिक खिचातानी नहोस् भन्नका लागि आफूहरूले ‘मार्गप्रशस्त’ गरेको पदाधिकारीहरूले बताएका छन् ।
शिक्षाध्यक्ष केसीका अनुसार सरकारले अध्यादेशमार्फत पदाधिकारी हटाउने तयारी गरेको र सत्तारुढ दलका नेताहरूको आशय पनि सोही देखिएकाले पदमा टाँसिरहनुभन्दा राजीनामा दिनु उपयुक्त ठानिएको हो ।
यसअघि फरक-फरक समयमा नियुक्त भएका यी पदाधिकारीहरूमध्ये उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए भने केसी र रिजाल प्रचण्ड सरकारको पालामा नियुक्त भएका थिए । ४ वर्षको कार्यकाल बाँकी छँदै सरकारी अध्यादेशको दबाबका बीच उनीहरूले सामूहिक रूपमा पद त्याग्ने निर्णय गरेका हुन् ।









प्रतिक्रिया