
एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सले बिहीबार पहिलो त्रैमासिकमा सञ्चालन नाफामा आठ गुणाभन्दा बढी वृद्धिको रिपोर्ट सार्वजनिक गरेको छ ।
चिप व्यवसायको विस्फोटक वृद्धिका कारण कम्पनीले नयाँ रेकर्ड कायम गर्दै विश्लेषकहरूको अनुमानलाई पनि पछाडि पारेको छ ।
यहाँ सामसङको पहिलो त्रैमासिकको नतिजा र एलएसईजी स्मार्टएस्टिमेट बीचको तुलना दिइएको छः
राजस्वः १३३.९ ट्रिलियन कोरियन वन (४८९.९६ अर्ब) जबकि १३२.६९ ट्रिलियन वनको अपेक्षा गरिएको थियो ।
सञ्चालन नाफाः ५७.२ ट्रिलियन वन जबकि ५५.२८ ट्रिलियन वनको अपेक्षा गरिएको थियो ।
दक्षिण कोरियाली यो प्रविधि दिग्गजको त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा ७५० प्रतिशतभन्दा बढीले बढेर नयाँ रेकर्डमा पुगेको छ । कम्पनीले करिब ७० प्रतिशतको वार्षिक वृद्धिसहित रेकर्ड राजस्व पनि संकलन गरेको छ ।
यो नाफा सामसङले आफंैले अनुमान गरेको ५७.२ ट्रिलियन वनकै हाराहारीमा छ र यसले सन् २०२५ को पूर्ण वर्षको कुल नाफा (४३.६ ट्रिलियन वन) लाई पनि उछिनेको छ ।
सामसङको कीर्तिमान कमाइ यसको चिप व्यवसायको मजबुतीका कारण सम्भव भएको हो । स्मार्टफोन र सेमिकन्डक्टर फाउन्ड्री सेवाका अतिरिक्त यो कम्पनी मेमोरी चिपको प्रमुख उत्पादक पनि हो ।
विश्वव्यापी एआई डेटा सेन्टरको लहरबाट कम्पनीको चिप व्यवसाय मुख्य रूपमा लाभान्वित भएको छ । यसले गर्दा आपूर्तिमा कमी आएको छ र डेटा सेन्टर, स्मार्टफोन, पीसी र गेम कन्सोलमा प्रयोग हुने मेमोरी चिपको मूल्य बढेको छ ।
सामसङले आफ्नो प्रतिवेदनमा उल्लेख गरेअनुसार, ठूला कम्पनीहरूले एआई अपनाउने क्रम बढेसँगै वर्षको दोस्रो ६ महिनामा पनि सर्भर मेमोरीको माग बलियो रहने अपेक्षा गरिएको छ ।
नतिजा सार्वजनिक भएपछि दक्षिण कोरियामा सामसङको सेयर करिब १ प्रतिशतले बढेको थियो तर दिउँसोको कारोबारमा ०.८ प्रतिशतले घट्यो । यद्यपि, यस वर्ष अहिलेसम्म यसको सेयर मूल्य करिब ९० प्रतिशतले बढिसकेको छ ।
सामसङको चिप व्यवसाय (जसलाई डिभाइस सोलुसन विभाग पनि भनिन्छ) ले पहिलो त्रैमासिकमा ५३.७ ट्रिलियन कोरियन वन सञ्चालन नाफा आर्जन गरेको छ जबकि गत वर्षको सोही अवधिमा यो केवल १ ट्रिलियन वन थियो । यो नाफा कम्पनीको कुल त्रैमासिक कमाइको ९० प्रतिशतभन्दा बढी हो ।
अर्कोतर्फ, एनभिडिया जस्ता चिप निर्माताहरूले गर्दा हाई–ब्यान्डविथ मेमोरी (एचबीएम) को माग उच्च रहेको छ । सीमित आपूर्तिका बावजुद उच्च मूल्यको एआई मागलाई सम्बोधन गरेर यसको मेमोरी व्यवसायले त्रैमासिक बिक्रीको रेकर्ड तोडेको सामसुङले बिहीबार भनेको छ ।
कम्पनीका एक कार्यकारीले बताएअनुसार, हाल ग्राहकको मागको तुलनामा मेमोरी आपूर्ति धेरै कम छ । ‘अभावको डरले ग्राहकहरूले सन् २०२७ को मागलाई अहिल्यै अगाडि सारिरहेका छन्,’ उनले भने ।
बढ्दो नाफाका बाबजुद सामसुङले एचबीएम व्यवसायमा आफ्नो प्रतिस्पर्धी एसके हाइनिक्सबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । सामसङले फेब्रुअरीमा विश्वमै पहिलो पटक एचबीएम४ मेमोरी चिप ठूलो परिमाणमा उत्पादन गर्न सफल भएको र ग्राहकहरूलाई पठाउन थालेको घोषणा गरेको थियो ।
एचबीएम४ हालसम्मकै सबैभन्दा उन्नत संस्करण हो जुन एनभिडियाको अर्को पुस्ताको शक्तिशाली एआई प्रविधिका लागि प्रयोग गरिने अपेक्षा गरिएको छ ।
सामसङको चिप व्यवसायले बढ्दो मूल्यबाट फाइदा उठाए पनि यसले कम्पनीका अन्य शाखाहरू जस्तै स्मार्टफोन र घरेलु उपकरण व्यवसायमा भने नकारात्मक असर पार्न सक्छ किनकि ती सामान बनाउन प्रयोग हुने चिपको लागत बढ्नेछ ।
यसैबीच, कम्पनीले पश्चिम एसियाको द्वन्द्वलाई पनि नजिकबाट नियालिरहेको बताएको छ जसले कच्चा पदार्थ र ऊर्जा आपूर्ति शृङ्खलामा जोखिम निम्त्याउन सक्छ ।








प्रतिक्रिया