संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा : पूर्वप्रधानमन्त्री भट्टराई
लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।
प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उनले सुझाव दिए ।
यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका थिए । रासस