
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा घट्दा तथा निष्क्रिय कर्जाको दबाबले नोक्सानी व्यवस्था बढ्दा खुद नाफा प्रभावित भएको देखिन्छ ।
बैंकले चैत मसान्तसम्म ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको (४ अर्ब ५४ करोड रुपैयाँ) तुलनामा ३०.६९ प्रतिशतले कम हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३१ करोडबाट घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ । ब्याज आम्दानी घटे पनि बैंकको खुद फि एन्ड कमिसन आम्दानीमा भने केही सुधार भएको छ । गत वर्ष १ अर्ब ५२ करोड रहेको यस्तो आम्दानी बढेर १ अर्ब ६३ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
नाफा घट्नुमा सञ्चालन खर्चमा भएको वृद्धि र ब्याज आम्दानीमा आएको गिरावट मुख्य कारण देखिएको छ । यता निष्क्रिय कर्जा भारी दरले बढ्दा बैंकले ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ ‘इम्पेयरमेन्ट चार्ज’ (नोक्सानी व्यवस्था) थप गर्नु परेको छ । यसले नाफा प्रभावित भएको हो ।
निष्क्रिय कर्जाको अनुपात गत वर्षको चैतमा ६.०६ प्रतिशत रहेकामा बढेर ८.४१ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा भने १.५३ प्रतिशतबाट बढेर २.२८ प्रतिशत पुगेको छ ।
यसअविधमा बैंकले निक्षेप संकलनमा राम्रो वृद्धि गरेको छ । असार मसान्तसम्म ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ निक्षेप रहेको बैंकले चैत मसान्तसम्म बढाएर ५ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा स्थिर जस्तै छ । असारमा ३ खर्ब २३ अर्ब १७ करोड रहेको कर्जा प्रवाह चैत मसान्तमा ३ खर्ब २६ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
बजारको प्रवृत्ति अनुसार बैंकको आधार दरमा उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्षको चैतमा ५.९९ प्रतिशत रहेको बेसरेट घटेर ४.८५ प्रतिशतमा झरेको छ । त्यस्तै, ब्याजदर अन्तर (स्प्रेड रेट) ३.४५ प्रतिशतबाट घटेर २.७९ प्रतिशत कायम भएको छ । यसले गर्दा बैंकको नाफामा दबाब परेको देखिन्छ ।
प्रमुख वित्तीय सूचकतर्फ प्रतिसेयर आम्दानी गत वर्ष १७.७४ रुपैयाँबाट घटेर १२.२९ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९.७२ रुपैयाँ हुँदा पीई रेसियो: १७.१४ गुणा कायम भएको छ ।
बैंकको सीडी रेसियो ६८.३७ प्रतिशत रहनुले बैंकसँग लगानीयोग्य रकमको पर्याप्तता देखिन्छ । यद्यपि पुँजी पर्याप्तता अनुपात १२.४१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.७० प्रतिशत हुँदा कर्जा विस्तारको क्षमता पनि केही कमजोर देखिन्छ ।
बैंकको ९ महिनाको वितरणयोग्य नाफा र सञ्चित नाफा दुवै ऋणात्मक देखिएका छन् । ९ महिनामा बैंकले ३ अर्ब रूपैयाँभन्दा बढी नाफा गरे पनि यस अवधिको वितरणयोग नाफा भने ६४ करोड ८० करोडले ऋणात्मक छ । यसैगरी हालसम्मको सञ्चित घाटा ३ अर्ब १० करोड ३१ लाख रूपैयाँ पुगेको छ । हाल बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ ।









प्रतिक्रिया