
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार तेस्रो त्रैमासमा बैंकको नाफा, व्यवसाय विस्तार र कर्जाको गुणस्तरमा बैंकले उल्लेख्य सुधार गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ६५ करोड २१ लाख रुपैयाँको तुलनामा २३.३६ प्रतिशतले बढी हो ।
नाफामा देखिएको यो वृद्धि मुख्यतया नोक्सानी व्यवस्थामा आएको कमी र सञ्चालन दक्षतामा भएको सुधारका कारण सम्भव भएको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानीमा भने झिनो संकुचन देखिएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्म ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष सामान्य घटेर ७ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
यद्यपि बैंकले सम्भावित कर्जा नोक्सानीका लागि गर्ने व्यवस्था (इम्पेयरमेन्ट चार्ज) गत आवको तेस्रो त्रैमासको तुलनामा कम गरेको छ । गत आवको चैतसम्ममा ३ अर्ब १९ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जमा खर्चिएको बैंकले यो वर्ष ३ अर्ब १ करोड २० लाख रुपैयाँ मात्र छुट्ट्याएको छ, जसले प्रत्यक्ष रूपमा नाफा बढाउन योगदान पुर्याएको छ ।
व्यवसाय विस्तारको पाटोमा बैंकले आक्रामक र सुरक्षित दुवै रणनीति अपनाएको देखिन्छ । गत असार मसान्तको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सन्तोषजनक वृद्धि भएको छ । असार २०८२ सम्म ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ रहेको कुल निक्षेप चैत मसान्तसम्म आइपुग्दा ४ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कर्जा प्रवाह पनि ९ महिनामा २ खर्ब ७४ अर्ब ९६ करोडबाट बढेर ३ खर्ब २ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । बैंकको कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) ७७.०४ प्रतिशतमा सीमित छ, जुन नियामकले तोकेको ९० प्रतिशतको सीमाभन्दा निकै तल रहनुले बैंकसँग थप कर्जा प्रवाह गर्न सक्ने पर्याप्त तरलता रहेको पुष्टि गर्दछ ।
कर्जाको गुणस्तरमा बैंकले उल्लेख्य सुधार गरेको छ । गत आवको सोही अवधिमा ५.८६ प्रतिशत पुगेको कुल निष्क्रिय कर्जा यो वर्ष घटेर ५.२९ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा (नेट एनपीएल) २.०७ प्रतिशतबाट उल्लेख्य रूपमा घट्दै १.३९ प्रतिशतमा सीमित भएको छ, जसले बैंकको ‘रिकभरी’ प्रक्रिया प्रभावकारी रहेको देखाउँछ ।
बैंकको लागत घटेसँगै आधार दर (बेस रेट) ६.७२ प्रतिशतबाट घटेर ५.२० प्रतिशतमा झरेको छ । यसले गर्दा ऋणीहरूका लागि बैंकको ब्याजदर प्रतिस्पर्धी र सस्तो बनेको छ । बैंकको ब्याजदर स्प्रेड पनि ३.६७ बाट घटेर ३.४० प्रतिशत कायम भएको छ ।
लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने सूचकहरूमा पनि बैंकले सकारात्मक नतिजा दिएको छ । बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ८.०५ रुपैयाँबाट वृद्धि भई १०.१५ रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २१.२४ गुणा रहेको छ । बैंकको इक्विटीमा प्रतिफल (आरओई) ५.२८ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत पुगेको छ । बैंकको प्राथमिक पुँजी कोष ९.५९ प्रतिशत र कुल पुँजी कोष ११.९० प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्मको बैंकको वितरणयोग्य नाफा ११ करोड ४५ लाख रुपैयाँ रहेको छ भने हालसम्मको सञ्चित नाफा ५१ करोड ६१ लाख रुपैयाँ छ । यो सञ्चित नाफाले बैंकको वार्षिकिकृत लाभांश क्षमता १.९३ प्रतिशत देखिएको छ । गत आवको सोही अवधिमा यो क्षमता ३.१७ प्रतिशत थियो । हाल बैंकको चुक्तापुँजी २६ अर्ब ७८ करोड रूपैयाँ छ ।









प्रतिक्रिया