मैदा उत्पादन गर्ने दाउन्ने फ्लोर मिल्सको व्यापार ५.५% ले बढ्यो, कतिको गर्‍यो व्यापार?

0
Shares

काठमाडौं । दाउन्ने फ्लोर मिल्सको व्यापार ५.५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५.५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ९८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा १ अर्ब ४ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब १७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा ०.२६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.०१ प्रतिशत खुद नाफा कमाएको थियो।

सन् २०१३ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी मैदा तथा अन्य सामग्री उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । नवलपरासीको रामग्राममा उद्योग रहेको कम्पनीका दुई वटा ग्राइन्डिङ युनिट छन् । कम्पनीको मैदा मिलले दैनिक १८० मेट्रिक टन मैदा र चक्की पिठो (आँटा) ६० मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको पिठो र मैदा ‘दाउन्ने गोल्ड’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेका खाद्य वस्तु एक केजीदेखि ५० केजीको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।

गणेशप्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५३ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २६ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीको कर्जा ५३ करोड ८० लाख रुपैयाँबाट घटेको हो ।