राष्ट्र बैंकको वार्षिकोत्सवमा निजी क्षेत्रका सञ्चारकर्मीलाई निषेध, प्रश्नसँग किन डराए गभर्नर ?

329
Shares

काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सवको अवसरमा पहिलोपटक निजी क्षेत्रका सञ्चारमाध्यमलाई निषेध गरेको छ ।

हरेक वर्ष भव्य रूपमा मनाइने र सबै सरोकारवालालाई समेटिने गरी वार्षिकोत्सव कार्यक्रम गर्दै आएको बैंकले यसपटक निजी क्षेत्रका पत्रकारहरूलाई कार्यक्रमको सूचना संकलनमा रोक लगाएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको विशेष निर्देशनमा सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई मात्र निमन्त्रणा गर्ने निर्णय गरिएको हो ।

सार्वजनिक महत्त्वको निकायले महत्त्वपूर्ण वार्षिक प्रतिवेदन र समीक्षा सार्वजनिक गर्ने कार्यक्रममा निजी क्षेत्रलाई अलग राखिनुलाई लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको सूचनाको हक विपरीतको कदमका रूपमा लिइएको छ ।

गभर्नरको यो कदमबाट राष्ट्र बैंककै उच्च अधिकारीहरू रुष्ट छन् ।

निजी क्षेत्रको मर्मअनुरूप नियामकीय व्यवस्था हेरफेर गरेर निजी क्षेत्र मैत्री गभर्नरका रूपमा चिनिएका पौडेलले निजी क्षेत्रका सञ्चारमाध्यमलाई राष्ट्र बैंक प्रांगणमै प्रवेश रोक लगाएका हुन् ।

वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले वर्षभरिको कार्यसम्पादन, मुलुकको वित्तीय अवस्था र मौद्रिक नीतिको कार्यान्वयनसम्बन्धी विवरण सार्वजनिक गर्ने गर्दछ । मौद्रिक नीति तरलताको पासोमा फस्दै गएको, मौद्रिक औजारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको र अवस्थामा केन्द्रीय बैंकको भूमिकामाथि प्रश्न उठ्ने अवस्था आएको छ ।

पछिल्लो समय बढ्दो मुद्रास्फीतिबीच निक्षेपको ब्याजदर निरन्तर घट्दै गएको छ । यसले गर्दा वास्तविक ब्याजदर ऋणात्मक हुने अवस्था देखिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत ब्याजदर घटाउँदै ब्याजदर थप घटाउन प्रोत्साहन गरेका थिए । नीतिगत ब्याजदर घटाएर सरकारको आन्तरिक ऋणको लागत तथा ऋणीको लागत घटाएर अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने बताएका थिए ।

तर, ब्याजदर घटे पनि आर्थिक गतिविधिमा सुधार हुने भन्दा पनि वास्तविक ब्याजदर ऋणात्मक बन्दै जाने अवस्था देखिएको छ । तर, गभर्नर ब्याजदर घटेपछि कर्जा प्रवाह बढ्ने भन्दै एकहोरो भाषण गर्न भने छाडेका छैनन् ।

केन्द्रीय बैंक तरलता व्यवस्थापनमा पनि चुक्दै गएको छ । गभर्नरको योग्यता र कार्यशैलीप्रति आलोचनात्मक टिप्पणी गर्ने मिडियाहरूलाई केन्द्रीय बैंकको औपचारिक कार्यक्रममा निषेध गर्ने नीति लिएर गभर्नर पौडेल प्रश्नबाट भाग्न खोजेको देखिएको छ ।

मिडियाको ‘वाचडग’ (खबरदारी गर्ने) भूमिकालाई कुण्ठित बनाउने काम गरेको भन्दै केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूले असहमति जनाएका छन् ।

क्लिकमान्डुले यस विषयमा एक कार्यकारी निर्देशकलाई प्रश्न गर्दा ती कार्यकारी निर्देशकले ‘तपाईंहरूलाई निम्तो आएन र?’ भन्दै प्रतिप्रश्न गरे । अर्का एक कार्यकारी निर्देशकले ‘बोलाउनु पर्ने हो । गभर्नर साबको कार्यालयले नै वार्षिकोत्सव कार्यक्रमको व्यवस्थापन गर्ने हो । यस्तो त हुनु नपर्ने हो । बाँकी कुरा उतै सोध्दा राम्रो,’ भन्दै जवाफ दिए ।

मौद्रिक नीति र विदेशी विनिमय नीति तर्जुमा गर्ने मात्रै नभई नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मूल्यवृद्धि नियन्त्रण गर्ने भूमिका पनि केन्द्रीय बैंकको हो । यस्तोमा केन्द्रीय बैंकले वार्षिकोत्सव जस्तो औपचारिक समारोहमा समेत निजी क्षेत्रका सञ्चार माध्यमलाई समाचार संकलनमा रोक लगाउँदै सूचना प्रवाहलाई संकुचित बनाउन खोजेको छ ।

केन्द्रीय बैंकले प्रेस स्वतन्त्रता र पारदर्शिताको विश्वव्यापी मान्यतालाई लत्याउँदै सरकारको मुखपत्र मानिने सरकारी सञ्चार माध्यमलाई मात्रै औपचारिक कार्यक्रमको समाचार सम्प्रेषण गर्न निम्त्याएको हो ।