एलओडीमा १६ कलाकारले दिए रोमाञ्चक प्रस्तुति

133
Shares

काठमाडौं । ठमेलस्थित एलओडी क्लबमा ‘अमेरिकन बोर्डरलाइन’ समूहले विशेष प्रस्तुति दिएको छ ।

शनिबार राति करिब दुई घण्टा चलेको कार्यक्रममा समूहका १६ कलाकारले रोचक, रोमाञ्चक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा ‘रोबोटिक डान्स’, ‘बेलुन डान्स’ र ‘प्लेन डान्स’ जस्ता फरक शैलीका प्रस्तुति समावेश थिए ।

दर्शकहरूले यस कार्यक्रमलाई अन्य इभेन्टभन्दा फरक र नयाँ अनुभवका रूपमा लिएका छन् । सहभागीमध्येका राघव शाक्यले यस्तो स्तरको प्रस्तुति नेपालमै पहिलोपटक देख्न पाएको भन्दै प्रशंसा गरे। उनका अनुसार यस किसिमका अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले काठमाडौंको नाइटलाइफलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुर्‍याउनेछ ।

क्लबका निर्देशक भुपेन कुँवरका अनुसार एलओडीले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई आमन्त्रण गर्दै कार्यक्रम आयोजना गर्दै आएको भए पनि यस्तो अवधारणाको कार्यक्रम पहिलोपटक गरिएको हो । ‘यो इभेन्टले नेपाललाई क्लबिङ जीवनशैलीको हब बन्ने सम्भावना देखाएको छ’, उनले भने, ‘हाम्रो लागि यो ऐतिहासिक क्षण हो ।’

यस्ता कार्यक्रमहरूले मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या बढाउने र समग्र पर्यटन उद्योगलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूको सूचीमा निरन्तर सुधार गर्दै अगाडि बढिरहेको छ। सन् २०२५ मा ४४औँ स्थानमा रहेको क्लब यस वर्ष ४०औँ स्थानमा उक्लिएको छ। यसअघि २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा परिसकेको थियो ।

अमेरिकन बोर्डरलाइनको प्रस्तुति एलओडीका लागि मात्र होइन, काठमाडौंको समग्र नाइटलाइफ संस्कृतिका लागि पनि नयाँ मापदण्ड स्थापित गर्ने कार्यक्रमका रूपमा हेरिएको छ ।