
काठमाडौं । तपाईं च्याटजीपीटी कत्तिको चलाउनुहुन्छ ? यदि धेरैजसो च्याटजीपीटी प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ । अब राइड सेयरिङ सुविधा च्याटजिपिटीबाटै लिन सकिनेछ । यसका लागि नेपालमा लोकप्रिय राइड सेयरिङ एपमध्ये एक यांगो च्याटजीपीटीको फिचर्समा थप भएको छ ।
ग्लोबल टेक कम्पनी यांगो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा यांगो राइडले च्याट जीपीटी भित्रै यात्रा योजना र राइड बुकिङ गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको हो। कम्पनीले सञ्चालन गर्ने २५ भन्दा बढी देशहरूमा विस्तार गरिएको यस सुविधाले मध्यपूर्व, दक्षिण एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकासम्मका प्रयोगकर्तालाई समेट्ने छ ।
नयाँ सुविधामार्फत प्रयोगकर्ताले च्याटजीपीटीको कुराकानी भित्रै आफ्नो गन्तव्यको यात्रा योजना बनाउन सक्नेछन् । यसमा निश्चित रुटको स्पष्ट मूल्य, वैकल्पिक रुटहरूको तुलना, यात्रा समय तथा गाडी आइपुग्ने अनुमानित समय जस्ता जानकारी प्राप्त गर्न सकिन्छ। साथै, गाडीलाई पर्खने समय घटाउनका लागि उपयुक्त पिकअप स्थान छनोट गर्न पनि यसले सहयोग गर्नेछ ।
यात्रा योजना तय भएपछि प्रयोगकर्ताले अनुमानित भाडा यांगो एप वा वेब प्लेटफर्ममार्फत हेरेर सुरक्षित रूपमा बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।
कम्पनीका अनुसार, यो सुविधा विशेषगरी बारम्बार यात्रा गर्ने, पर्यटक तथा व्यवसायिक प्रयोगकर्ताका लागि उपयोगी हुनेछ । च्याटजीपीटी भित्रै राइड–हेलिङ सुविधा समावेश भएपछि प्रयोगकर्ताले विभिन्न एपहरू परिवर्तन नगरी सजिलै आफ्नो दैनिक यात्रा व्यवस्थापन गर्न सक्नेछन् ।
यांगो राइडले यो प्रणाली वास्तविक समयको ट्राफिक डेटा र स्मार्ट रुटिङ प्रविधिमा आधारित रहेको बताएको छ, जसले सडक अवस्थाअनुसार यात्राको समय र लागतलाई निरन्तर अद्यावधिक गर्छ । भविष्यमा च्याट जीपीटीमा अझ सेवा विस्तार गर्दै डेलिभरी, सार्वजनिक यातायात तथा फूड डेलिभरी जस्ता सेवाहरू समेत समावेश गर्ने कम्पनीको योजना छ ।





प्रतिक्रिया