किन दर्जनकै ३५० रुपैयाँ पुग्यो केराको मूल्य ?

168
Shares

काठमाडौं । नेपाली बजारमा अहिले केराको चरम हाहाकार देखिएको छ ।

भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहरूले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि आपूर्तिमा यस्तो समस्या देखिएको हो ।

आन्तरिक उत्पादन कमजोर रहेको र अवैध रूपमा भित्रिने केरा जनस्वास्थ्यका लागि प्रतिकूल हुने भएकाले व्यवसायीहरूले यसको बिक्री रोकेको बताए।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको जानकारी दिए ।

केही महिना अघिसम्म भारतबाट अवैध केरा भित्रिँदा बजारमा अभाव नदेखिए पनि संघकै पहलमा त्यस्ता केरा रोकेपछि एकाएक आपूर्ति घटेको उनले बताए । नेपालको उत्पादन अत्यन्तै कम भएको र अवैध केरा रोकेपछि बजार खाली भएर मूल्य बढेको उनको भनाइ छ ।

मूल्यवृद्धिको कारणबारे प्रस्ट्याउँदै बानियाँले भने ‘होटलहरूलाई क्वालिटीको केरा नभई हुँदैन, जुन हामीसँग छैन । उनीहरूले जति पनि मूल्यमा किनिदिँदा केरा ३०० देखि ३५० सम्म पुगेको हो ।’

उनले पुसपछि केराको उत्पादन निकै कम हुने गरेको र विगतमा त्यही समयमा अवैध केरा भित्रिने गरेको उल्लेख गरे । तर चोरीको केरा कतिन्जेल बेच्ने भन्ने निष्कर्षमा पुगेर संघ र महासंघले यस पटक देशभरका बजारमा पूर्ण बन्देज लगाएको उनले जानकारी दिए ।

बानियाँका अनुसार नेपाली केरामा ग्रेडिङ र प्याकेजिङको अभाव भएकाले पनि बजारमा समस्या देखिएको हो। ‘हामीसँग ग्रेडिङ र प्याकेजिङ नभएका कारण नै बाध्यताले मोटो केरा बजारमा भित्रिएको थियो,’ उनले भने ।

यता किसानहरूले आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा पठाएको दाबी गर्दै व्यवसायीले मूल्य बढाएको आरोप लगाएका छन्। तर बानियाँले सो आरोप अस्वीकार गर्दै अहिले उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन भएको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारी मारमा परेको बताए । किसानले उत्पादनको गुणस्तरमा ध्यान नदिए बजारमा बेच्न कठिन हुने उनको भनाइ छ ।

सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भरताको दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशत मात्र रहेको दाबी गर्दै उनले आयात नियन्त्रणसँगै उत्पादन बढाउने नीति लिनुपर्ने बताए ।

राज्यले किसान र व्यवसायीलाई जोड्नुपर्नेमा उल्टै फाटो ल्याएको र व्यवसायीका गुनासा सुन्न सरकार उदासीन रहेको उनले गुनासो गरे। कृषि मन्त्रीसँग भेटका लागि समय समेत नपाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

Skip This