
एजेन्सी । इरानसँगको जारी द्वन्द्वमा अमेरिका बलियो स्थितिमा रहेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार दाबी गरे ।
उनले नयाँ कूटनीतिक वार्ता सुरु हुन लागे पनि अमेरिकी सैन्य कारबाहीले तेहरानलाई कमजोर बनाएको दाबी गरे ।
उनले अमेरिका जितिरहेको र इरानको सैन्य क्षमता उल्लेख्य रूपमा घटेको बताए । साथै, उनले स्थितिलाई फरक रूपमा प्रस्तुत गरेको भन्दै सञ्चारमाध्यमका केही खण्डहरूको आलोचना पनि गरे ।
ट्रुथ सोसलको एउटा पोस्टमा ट्रम्पले लेखेका छन्, ‘म धेरै ठूलो अन्तरले युद्ध जितिरहेको छु, सबै कुरा धेरै राम्ररी अगाडि बढिरहेको छ, हाम्रो सेना अद्भुत रहेको छ । तपाईंहरू द फेलिङ न्युयोर्क टाइम्स, घृणित वाल स्ट्रिट जर्नल वा अब लगभग बन्द हुन लागेको वाशिङटन पोस्ट जस्ता झूटो समाचार पढ्नुहुन्छ भने तपाईंलाई हामीले युद्ध हारिरहेका छौं जस्तो लाग्न सक्छ । शत्रु अन्योलमा छ किनभने उसले पनि यस्तै मिडिया रिपोर्टहरू पाउँछ तर उनीहरूलाई थाहा छ उनीहरूको जलसेना पूर्ण रूपमा समाप्त भइसकेको छ, वायुसेना थन्किएका छन्, उनीहरूसँग कुनै मिसाइल वा विमान विरोधी उपकरण छैन, उनीहरूका पूर्व नेताहरू प्रायः समाप्त भइसकेका छन् (यो अन्य कुराका अतिरिक्त सत्ता परिवर्तन पनि हो !) । र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा नाकाबन्दी जुन हामीले सम्झौता नभएसम्म हटाउने छैनौं, त्यसले इरानलाई पूर्ण रूपमा ध्वस्त पारिरहेको छ ।’
‘उनीहरूले दैनिक ५० करोड डलर गुमाइरहेका छन् जुन छोटो समयका लागि पनि धान्न नसकिने रकम हो । अमेरिका विरोधी झूटो मिडिया इरानले जितोस् भन्ने चाहन्छ, तर त्यस्तो हुने छैन किनभने नेतृत्व मेरो हातमा छ ! जसरी यी अराष्ट्रिय मानिसहरूले चुनावमा मविरुद्ध आफ्नो सीमित शक्तिको अन्तिम थोपा प्रयोग गरे उनीहरूले इरानको मामिलामा पनि त्यसै गरिरहेका छन् । नतिजा उस्तै हुनेछ जुन अहिले नै देखिइसकेको छ !’ पोस्टमा लेखिएको छ ।
यो टिप्पणी यसै महिनाको सुरुमा भएको २१ घण्टा लामो म्याराथन छलफलपछि हुन लागेको दोस्रो चरणको वार्ताको पूर्वसन्ध्यामा आएको हो । अघिल्लो वार्ता कुनै सम्झौता बिना टुंगिएको थियो र वार्ता विफल भएमा द्वन्द्व अझ बढ्न सक्ने चेतावनीका बीच कूटनीतिक प्रयासहरू अहिले निर्णायक चरणमा प्रवेश गरेका छन् ।
उपराष्ट्रपति जेडी भ्यान्स, जारेड कुश्नर र विशेषदूत स्टिभ विटकफ सम्मिलित एक उच्चस्तरीय अमेरिकी वार्ता टोली इरानी नेतृत्वसँग महत्त्वपूर्ण वार्ता गर्न पाकिस्तानतर्फ जाँदैछ ।
बुधबार युद्धविरामको म्याद सकिन लागेकाले इस्लामाबाद वार्तालाई सम्भावित पूर्ण स्तरको पूर्वाधार युद्ध टार्ने अन्तिम कूटनीतिक अवसरको रूपमा हेरिएको छ । अमेरिकाले टेबुलमा निष्पक्ष र उचित सम्झौता रहेको दाबी गरे पनि नाकाबन्दीको छायाँमा वार्ता नगर्ने इरानी नेतृत्वको अडानले अघिल्लो २१ घण्टा लामो छलफल अझ भयानक मुठभेडको पूर्वसंकेत मात्र हुन सक्छ ।









प्रतिक्रिया